महिनावारी स्वच्छतामा लगानीसँगै स्थानीय सरकारको सेवा प्रवाह प्रभावकारी बनाउनुपर्छ नगरप्रमुख शाही

  ।   २३ आश्विन २०८३, शुक्रबार १९:४०

सुर्खेत । रास्कोट नगरपालिका कालिकोटका नगरप्रमुख धर्मराज शाही पोषण ले महिनावारी स्वास्थ्य तथा स्वच्छतासम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउँदै बालमैत्री, अपाङ्गतामैत्री र समावेशी पूर्वाधारको विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ।

मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपालको आयोजनामा, प्लान इन्टरनेशनल नेपालको सहयोग तथा सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशको समन्वयमा असोज २३ गते आयोजित महिनावारी स्वास्थ्य तथा स्वच्छता सम्मेलनमा बोल्दै नगरप्रमुख शाहीले महिनावारी स्वास्थ्य र स्वच्छतासँग सम्बन्धित कार्यक्रमलाई विद्यालयस्तरदेखि समुदायसम्म विस्तार गर्नुपर्ने बताउनुभयो।

उहाँले रास्कोटमा निर्माण गरिएका छवटा आधुनिक शौचालयले सरसफाइका साथै बालबालिका, अपाङ्गता भएका व्यक्ति र अन्य सबै वर्गका नागरिकलाई सहज पहुँच सुनिश्चित गर्न सहयोग पुग्ने बताउनुभयो। पूर्वाधार निर्माणसँगै महिनावारी स्वच्छता, सरसफाइ, समावेशिता र समान व्यवहारबारे जनचेतना अभिवृद्धि गर्नुपर्ने उहाँको भनाइ थियो।

नगरप्रमुख शाहीले यस्ता कार्यक्रमलाई सीमित विद्यालयमा मात्र केन्द्रित नगरी नगरपालिकाका ३० वटै विद्यालयसम्म विस्तार गर्ने लक्ष्यका साथ अघि बढ्नुपर्ने बताउनुभयो। त्यसका लागि स्थानीय सरकार, विकास साझेदार संस्था, विद्यालय र समुदायबीच समन्वय तथा सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।

“स्थानीय सरकार भनेको नागरिकको घरआँगनमै सेवा पुर्‍याउने सरकार हो। संविधानले सुनिश्चित गरेका अधिकार र सेवाको अनुभूति प्रत्येक नागरिकले गर्न पाउनुपर्छ,” उहाँले भन्नुभयो।

उहाँले स्थानीय तहमा शिक्षा र स्वास्थ्य सेवाप्रति नागरिकको भरोसा बढाउनुपर्नेमा जोड दिँदै गाउँमै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउन सके गाउँबाट सहर जाने बाध्यता कम गर्न सकिने बताउनुभयो। स्थानीय स्रोत, साधन र सम्भावनाको उपयोग गर्दै गाउँमै सेवा, सुविधा र अवसर विस्तार गर्नुपर्ने उहाँको धारणा थियो।

महिनावारी स्वास्थ्य तथा स्वच्छतासम्बन्धी कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउन विकास साझेदार संस्थाहरूको सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गर्दै नगरप्रमुख शाहीले हुरेन्डेक नेपाल, प्लान इन्टरनेशनल नेपाललगायत सहयोगी संस्थालाई धन्यवाद दिनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन तथा दुर्गम बस्तीमा आवश्यक भौतिक पूर्वाधार विस्तार गर्न विकास साझेदारलाई आग्रह गर्नुभयो।

महिनावारी स्वास्थ्य तथा स्वच्छतासम्बन्धी सम्मेलनले महिनावारीप्रतिको विभेद र गलत धारणाको अन्त्य, स्वच्छतासम्बन्धी व्यवहारमा सुधार तथा सबै बालबालिकाका लागि सुरक्षित र समावेशी विद्यालय वातावरण निर्माणमा यस्ता कार्यक्रमले सहयोग पुर्‍याउने बताउनुभयो ।

Next Post

मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री शाही

२३ आश्विन २०८३, शुक्रबार १९:४०
कर्णालीमा आत्महत्या रोकथाम, विशेषज्ञ जनशक्ति र निःशुल्क औषधि उपलब्ध गराउन माग सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले मानसिक स्वास्थ्यसम्बन्धी समस्या न्यूनीकरण तथा आत्महत्या रोकथामका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। मानसिक स्वास्थ्यलाई लुकाएर राख्ने विषय नभई गम्भीर जनस्वास्थ्य समस्याका रूपमा लिएर यसको समाधानमा सरकार केन्द्रित हुने उहाँले बताउनुभयो। […]