सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशभर सक्रिय पत्रकारहरूको स्वास्थ्य सुरक्षाका लागि ऐतिहासिक कदम चालेको छ। नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको सहकार्यमा, प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत ६९३ जना पत्रकारका लागि पूर्ण रूपमा निःशुल्क स्वास्थ्य बीमा सुरु गरिएको हो।
यस योजनाअन्तर्गत राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता भएको छ। बीमा अन्तर्गत प्रत्येक पत्रकारले वर्षमा ७० हजार रुपैयाँसम्मको उपचार सुविधा प्राप्त गर्न सक्नेछन्। बीमा प्रक्रियाअनुसार, पत्रकारले बिरामी परेको ६० दिनभित्र वा अस्पतालबाट डिस्चार्ज भएको ३५ दिनभित्र बीमा कम्पनीलाई जानकारी दिनुपर्ने व्यवस्था छ।
यो योजना सञ्चालन गर्न कुल करिब १४ लाख रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ।
आइतबार आयोजित औपचारिक कार्यक्रममा, बीमा पोलिसी हस्तान्तरण गर्दै मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारको सुरक्षामा सरकारको भूमिका हस्तक्षेप होइन, संरक्षण हो भन्ने स्पष्ट पारे। उनले पत्रकारिता पेशा जोखिमपूर्ण मात्र नभई लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै भने, ूपत्रकारिता सधैँ सत्य खोज्ने र जनताको आवाज बुलन्द पार्ने पेसा हो। यस्तो संवेदनशील जिम्मेवारी वहन गर्ने पत्रकारप्रति राज्यको संरक्षण अनिवार्य हुन्छ।ू
मुख्यमन्त्री कँडेलले प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको पुनः दोहोर्याए। उनले सञ्चारकर्मी र राज्यबीच पारदर्शिता, आपसी सम्मान र सहकार्य आवश्यक रहेकोमा जोड दिए। पत्रकार स्वास्थ्य बीमा कार्यक्रमले पत्रकारको सुरक्षाप्रति सरकारको संवेदनशीलता, लोकतान्त्रिक मूल्यमा आस्था र मानव अधिकारप्रतिको प्रतिवद्धता प्रतिबिम्बित गरेको उनको भनाइ थियो।
कार्यक्रममा मन्त्रालयका सचिव, कर्मचारी, पत्रकार महासंघ कर्णाली प्रदेश समिति, र विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।