सुर्खेत । पश्चिम नेपालमै व्यवस्थित गुरुयोजनाका साथ बसाइएको सहर हो, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका । २०२९ सालमा स्वर्गीय राजा वीरेन्द्रले वीरेन्द्रनगरको सहरी मोडल कोर्न लगाएका थिए । राजा वीरेन्द्रले मन पराएको वीरेन्द्रनगर उपत्यकाको खाका २०२९ सालमा सहरी विकास विज्ञ माधवभक्त माथेमाले कोरेका थिए ।
तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षत्रिय सदमुरमुकामसमेत रहेको वीरेन्द्रनगरले त्यसयता राजनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक, शैक्षिक तथा स्वास्थ्यका क्षेत्रमा निकै फड्को मारेको छ ।
कुनै बेला औलोको उच्च जोखिम रहेको वीरेन्द्रनगर पञ्चायतकालिन क्षेत्रिय सदरमुकाम हुँदै देशमा गणतन्त्र पश्चात कर्णाली प्रदेशको मुकाम पालिका बनेको छ । २०७२ सालमा जारी संविधानले राज्यको विद्यमान भौगोलिक, राजनीतिक एवं प्रशासनिक संरचनाहरू संघीयताको मोडेलमा पुनर्संरचना ग¥यो ।
संविधानले परिकल्पना गरेको संघीयताअनुसार मुलुकभित्रको भौगोलिक सीमाङ्कन हेरफेर गरी राजनीतिक तथा प्रशासनिक संरचनाहरू पुनर्गठन भए । यससँगै ती निकायको अधिकार, स्रोतसाधन, जिम्मेवारी र जवाफदेहिताको विद्यमान अवस्थामा व्यापक हेरफेर गरियो ।
नेपाल तीन तहका सरकारको अभ्यासमा प्रवेश गरेसँगै वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी बनेको थियो । व्यवस्थित सहरी योजना बनाई बस्ती बस्न सुरु भएको वीरेन्द्रनगर झण्डै ५२ वर्षपछि नगरपालिकाबाट उप–महानगर पालिका बन्ने चरणमा प्रवेश गरेको छ ।
२०३३ सालमा उपत्यका क्षेत्रभित्र पर्ने कटकुवा, गोठीकाडा र जर्बुटा गाउँ पञ्चायत भित्र पर्ने केही भागलाई मिलाएर बनेको वीरेन्द्रनगरले ४८ वर्षपछि उपमहानगरपालिकाका लागि आवश्यक पर्ने सबै मापदण्ड पुरा गर्न सक्षम बनेको छ ।
नगरपालिकाको आन्तरिक स्रोत, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विजुली, सञ्चार लगायतका महत्वपूर्ण पूर्वाधारको विस्तार भएसँगै वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउँन आवश्यक प्रक्रिया अघि बढाइएको हो ।
वीरेन्द्रनगरलाई उप–महानगरपालिका घोषणाका लागि आर्थिक वर्ष २०७८(०७९ बाटै प्रक्रिया थालिएको थियो । नवौं नगरसभाले नगरपालिकालाई उपमहानगरपालिका घोषणाका लागि नीति तथा कार्यक्रम र बजेटमै समावेश गरेको थियो ।
तर, राजश्वको दायरा पूरा नभएपछि यो प्रक्रिया केही लम्बिएको हो । झण्डै तीन वर्षपछि नगरपालिकाको हिउँदे नगर सभाको १६ औं बैठकले उपमहानगरपालिका बनाउँन मापदण्ड पूरा गरेको भन्दै प्रक्रिया अघि बढाउन सार्वजनिक महत्वको प्रस्ताव पारित गरेको छ ।
नगरसभाले उपमहानगरपालिका घोषणाका लागि कर्णाली प्रदेश सरकारमार्फत केन्द्र सरकारलाई अनुरोध गर्न सार्वजनिक महत्वको प्रस्ताव पारित गरेको नगर प्रमुख मोहनमाया ढकाल बताउँछिन् ।
नगरसभाबाट पारित उप–महानगरपालिका बनाउने एजेण्डा कर्णाली प्रदेश सरकारमार्फत संघीय सरकारमा जानेछ । ‘यो एजेण्डा प्रदेशमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउने प्रस्ताव मन्त्रीपरिषद् बैठकमा लगेर निर्णय गर्नुपर्नेहुन्छ,’ ढकालले भनिन्, ‘मन्त्रिपरिषद् बैठकबाट निर्णय भएमा वीरेन्द्रनगर नगरपालिकाबाट उप–महानगरपालिका बन्नेछ ।’
उपमहानगरपालिकाका लागि आवश्यक मापदण्ड दुई लाख जनसंख्या, २५ करोड आन्तरिक राजस्व र आवश्यक प्रशासनिक संरचना हुनुपर्छ । वीरेन्द्रनगरलाई उपमहागरपालिका घोषणा गर्ने पर्याप्त मापदण्ड पूरा भइसकेको प्रमुख ढकालले बताइन् ।
२०७८ को जनगणनाअनुसार वीरेन्द्रनगरमा एक लाख ५३ हजार आठ सय ६३ जना वीरेन्द्रनगरमा बसोबास गर्छन् । राजधानीको नगरपालिका भएकाले वीरेन्द्रनगरमा अस्थायी बसोबास गर्नेको संख्या समावेश गर्ने हो भने यो संख्या पाँच लाख बढी छ ।
उपमहानगर बन्नका लागि नगरपालिकाको आन्तरिक वार्षिक औसत आम्दानी २५ करोड हुनुपर्छ । नगरपालिकाले गत वर्ष नै लगभग यो मापदण्ड पूरा गरिसकेको छ । यो वर्ष मात्रै नगरपालिकाले ४३ करोड आन्तरिक राजश्व उठाउने लक्ष्य राखेको छ ।
उपमहानगरपालिका बन्नका लागि उपमहानगरपालिका बन्नका लागि फोहरमैला प्रशोधन तथा व्यवस्थापनको उचित व्यवस्थापन भएको हुनुपर्छ । नगर क्षेत्रबाट संकलित फोहोर वीरेन्द्रनगर–१ तारेभिरमा व्यवस्थापन गरिदै आएको छ ।
यहाँ लेदोसहितको फोहोर व्यवस्थापन गर्न प्लान्ट तयार गरिएको छ । वीरेन्द्रनगरमा सभाहल यसअघि नै निर्माण गरिएको छ । विद्युत खानेपानी र सञ्चार सेवाको उपलव्धता प्रयाप्त छ ।
विद्युतको लो भोल्टेजको समस्या झेलिरहेका वीरेन्द्रनगरबासीका लागि १३२ केभी विद्युत प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । खानेपानीका लागि हाल झुप्रा, खरीबोरी, इत्राम, खोर्के खोलाको पानी वितरण गरिँदै आएको छ ।
यो प्रयाप्त नभएपछि वृहत भेरी पम्पिङ खानेपानी आयोजना निर्माण प्रक्रिया आरम्भ गरिएको छ । अबको तीन वर्षमा भेरी नदीको पानी लिफ्ट प्रविधिबाट वीरेन्द्रनगरमा वितरण थालिनेछ ।
नगर भित्रका प्रमुख सडक कालोपत्रे, आधुनिक पशु बधशाखा र व्यवस्थित शवदाह स्थलको मापदण्डसमेत पूरा भएको छ । उपमहानगरपालिका बन्न कम्तीमा एक सय शैयाको एक अस्पतालसहित कम्तीमा दुई सय शैयाको अस्पताल सुविधा हुनुपर्छ ।
नगरपालिकाले आफ्नै नगर अस्पताल सञ्चालन र लाटीकोईलीमा १५ सैयाको अस्पताल निर्माणको क्रममा छ । वीरेन्द्रनगरमै तीन सय सैयाको प्रदेश अस्पतालले विशेषज्ञसहितका सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।
प्रदेशकै पहिलो फुटबल रंगशाला निर्माण सम्पन्न हुँदैछ । यो रंगशालामा आगामी चैतमा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गरिँदैछ । खेलकुदका लागि अन्य ब्यामशाला तथा कर्भड सञ्चालनरत छन् ।
वीरेन्द्रनगरको मुख्य सडक फोरलेन सडक र भित्री सडकहरु कालोपत्रे छन् । उपत्यकाको चक्रपथ कालोपत्रेका शुरु गरिएको छ भने केही कच्ची सडकहरु पक्की बनाउन काम जारी छ ।
उच्च शिक्षाका लागि दुई विश्वविद्यालय छन् । मध्यपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको सुर्खेत बहुमखी क्याम्पस छन् । यस्तै, अन्य प्राविधिक शिक्षाहरुको सहज सुविधा वीरेन्द्रनगरमा छन् ।
सार्वजनिक उद्यानमा बुलबुले ताल, शहिद पार्क, अन्य साना पार्क तथा धार्मिक पर्यटकीयस्थलहरु छन् । पर्यटकहरुलाई बस्नका लागि स्टार लेभलका होटल तथा अन्य साना होटलहरु वीरेन्द्रनगरमा पर्याप्त छन् ।
वीरेन्द्रनगरमा आधुनिक पशु बधशाला र शवदाह स्थल छन् । सार्वजनिक प्रयोगका स्थल र भवनहरू अपाङ्गतामैत्री तथा भौतिक रूपमा पहुँचयोग्य बनाइएको छ । नगरपालिकाले निर्माण गरिरहेको भवन अपाङ्गतामैत्री तथा भौतिक रूपमा पहुँचयोग्य डिजाइन गरेर निर्माणको अन्तिम चरण छ ।
७९ वटा स्थानीय तह रहेको कर्णालीमा एउटा पनि उपमहानगरपालिका छैन । ७९ मध्ये २५ वटा नगरपालिका र ५४ वटा गाउँपालिका छन् । वीरेन्द्रनगर उपमहानगरपालिका घोषणा भए प्रदेशकै पहिलो उपमहानगरपालिका बन्नेछ । नेपाल कर्म अनलाईनबाट साभार