सुर्खेत । आज साउन १ गते कर्णालीमा साउने सङ्क्रान्ति तथा देउडा पर्व मनाइँदै छ । हरेक वर्ष साउने १ गते कर्णालीमा देउडा पर्व मनाउने प्रचलन रहेको छ ।
आज साउन १ गते पर्वका अवसरमा अवसरमा कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिएको छ । २०८१ चैत १७ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरी सार्वजनिक बिदा दिएको हो ।यसअघिका वर्षमा पनि कर्णाली प्रदेशमा साउन १ गते सार्जनिक बिदा दिने गरिएको थियो ।
कर्णालीका हिमाली जिल्लामा अनौठो तरिकाले साउने सङ्क्रान्ति मनाउने तरीका छ । यहाँका जुम्ला, डोल्पा, मुगु, कालिकोट र दैलेखमा राँको बालेर मात्रै नभई एक वस्तिले अर्को वस्तिलाई ‘दिल खोलेर गाली गर्ने’ प्रचलन पनि छ । जुन अत्यन्त रोचक मानिन्छ । साउने सङ्क्रान्तिको साँझ, असार महिनामा धान रोप्दा लागेको हिलो पखाल्न र छाला रोगबाट बच्न लुतो फाल्ने प्रचलन छ । यस अवसरमा मिठा परिकारहरू खाने चलन पनि रहेको छ ।
कर्णालीको परम्परा अनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती जस्ता औषधिका रूपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेको राक्षसको पूजा गरिन्छ । बेलुकी अगुल्टो फाल्ने विधि अहिले निकै चर्चित छ, जसलाई लुतो फाल्ने भनिन्छ । साँझ सबैले आआफ्नो घरको छत तथा आगनमा सल्लाको झरोबाट आगो बालेर सोही बलेको आगो फाल्दै गाली गर्ने चलन छ ।
साउने सङ्क्रान्तिको दिन सम्पन्न गरिने लुतो फाल्ने विधि अनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्टी बजाउने, र ढोका बन्द गर्ने गरिन्छ । भने आज आफ्ना आफन्तहरुलाई घरमा बोलाएर खीर, पनिर, तरकारी, अचारलगायतका मीठा–मीठा परिकार बनाउँदै खाएर साउने सङ्क्रान्ति मनाइने चलन छ ।
जुम्लाका संस्कृतविद रमानन्द आचार्यका अनुसार समाज तथा व्यक्तिमा भएका सबैखाले लुतो–पुतो, रिस–राग, रोग–भोग, विकृति–विसङ्गति सकिएर जाओस् भन्दै आज साँझ राँको बाल्ने र अन्तमा जलेर सकिन लागेको राँकोसँगै विकृति र समस्याको कुटिरो ९पोका० फालेर साउने सङ्क्रान्ति मनाइँदै छ । यता जुम्ली एकता सेवा समाज सुर्खेतका अध्यक्ष अमृत पाण्डेले सुर्खेतमा दिनभर देउडा खेल्ने र बेलुका राँको बालेर लुतो फालेर साउने सङ्क्रान्तिको समापन गर्ने तयारी रहेको बताए ।
उनका अनुसार साउने सङ्क्रान्ति पर्व देशभर मनाइरहँदा परम्परागतरूपमा कर्णालीमा भने फरक तरीकाले मनाउने मान्यता स्थापित भएको छ । साउने संक्रान्ति सबैतिर मनाइने भएपनि यसका विधी एवं प्रक्रियामा एकरुपता पाइदैन । धेरैजसो भेगमा भने यस दिन आफ्नो खेतबारीमा उत्पादन भएका वा पाकेका फलफूल चढाउने, कतिपय औषधिय वनस्पतिलाई घरमा सजाउने गरिन्छ ।
कण्डारक नामक रात्रिचर ९राती हिँड्ने०को पूजा गरिन्छ । त्यसपछि ‘उपियाँ जा, रुपियाँ आइजा, अनिकाल जा सकाल आइज’ भन्दै अगुल्टो फ्याक्ने प्रचलन छ । वर्षायामसँग हैजा, घाउ–खटिराको भय हुने भएकाले साउने संक्रान्तिमा यी सबै हटोस् भनेर कामना गरिन्छ । फलफूल, नैवेध चढाएर कण्डारकको पूजा गरेपछि दाद, लुतो, खटिरा जस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वास गरिन्छ । यस दिन नुहाएर तिउरी लगाउने पनि चलन छ । यसैगरी अनिकाल वा प्राकृतिक विपत्ति झेल्न नपरोस् भनी कामना गरिन्छ । अन्नदाता एवं प्रकृतिप्रति कृतज्ञता व्यक्त गरिन्छ ।







