रामारोशनमा सम्पन्न क्षेत्र ‘घ’ अध्यक्ष सम्मेलन : पर्यटन प्रवर्द्धनसँगै नेतृत्व विकासमा जोड

  ।   ६ बैशाख २०८३, आईतवार २०:३७

अछाम । नेपाल जेसीज को आयोजना तथा अछाम जेसीज को आतिथ्यतामा क्षेत्र ‘घ’ अध्यक्ष सम्मेलन अछामको प्रसिद्ध पर्यटकीय क्षेत्र रामारोशन मा सम्पन्न भएको छ। प्राकृतिक सुन्दरताले भरिपूर्ण रामारोशन क्षेत्र सम्मेलनको प्रमुख आकर्षण बनेको थियो।

१२ कुण्ड र १८ खण्डका कारण चर्चित रामारोशन क्षेत्र समुद्री सतहदेखि करिब २३०० देखि २७०० मिटर उचाइमा फैलिएको छ। यहाँका मनमोहक पाटन, शान्त तालहरू र हरियाली वातावरणले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको स्थानीयहरूले बताएका छन्। सम्मेलनमा सहभागी प्रतिनिधिहरूले उक्त क्षेत्रको प्राकृतिक सौन्दर्य अवलोकन गर्दै पर्यटन प्रवर्द्धनमा यसको सम्भावना औंल्याएका थिए।

कार्यक्रममा क्षेत्र ‘घ’ अन्तर्गत रहेका ५८ शाखामध्ये ४८ शाखाका अध्यक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सम्मेलनमा संगठन सुदृढीकरण, नेतृत्व विकास, आगामी कार्ययोजना तथा सामाजिक उत्तरदायित्वका विषयमा व्यापक छलफल गरिएको आयोजकले जनाएको छ।

सम्मेलनको व्यवस्थापन, अतिथि सत्कार तथा समग्र सञ्चालन अत्यन्तै व्यवस्थित र प्रभावकारी रहेको सहभागीहरूले प्रतिक्रिया दिएका छन्। सफल आयोजनाका लागि अछाम जेसीज तथा अछाम जेसीज वर्ष २०२६ का अध्यक्ष झनक अधिकारी प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरिएको हो ।

यस प्रकारका कार्यक्रमले स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउनुका साथै युवाहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

सम्बन्धित शीर्षक