अपडेट

जलवायु परिवर्तनदेखि मानवअधिकारसम्म गम्भीर भएर काम गर्न मन्त्री खड्काको निर्देशन

  ।   १५ आश्विन २०८३, बिहीबार १०:४२

रुकुम पश्चिम । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं सरकारका प्रवक्ता कल्याणी खड्काले रुकुम पश्चिमको भौगोलिक अवस्था र प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै जलवायु परिवर्तनका प्रभावबारे गम्भीर अध्ययन र बहस आवश्यक रहेको बताएकी छन्।

जिल्ला प्रसासन कार्यालय रुकुम पश्चिममा प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका कार्यालय प्रमुखको सहभागीता मा जिल्लाका समग्र विवरण जानकारी लिदै सो विषयमा बोल्दै जिल्लाका समग्र  जानकारी आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री खड्काले प्राकृतिक विपद्का कारण जिल्लामा देखिएका क्षतिको वैज्ञानिक अध्ययन गरी जोखिमयुक्त क्षेत्र र प्रभावित बस्ती पहिचान गर्नुपर्नेमा जोड दिइन् ।

 

उनले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीको अध्ययन, अनुसन्धान र समाधानका लागि स्थानीय प्रशासन, प्रदेश सरकार, स्थानीय तह तथा सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताइन्। जिल्लामा यस विषयमा नियमित बहस र छलफल चलाउनुपर्ने उनको भनाइ थियो।

मन्त्री खड्काले मानवअधिकार संरक्षणलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताइन्। मानवअधिकारको क्षेत्रमा काम गर्दै आएको आफ्नो प्रतिबद्धता उल्लेख गर्दै उनले रुकुममा मानवअधिकार उल्लंघन तथा जातीय विभेदजस्ता घटनालाई नियन्त्रण गर्न नीतिगत व्यवस्थासँगै सामाजिक सशक्तीकरण आवश्यक रहेको बताइन्।

उनले कर्मचारी तथा कार्यालयको कार्यसम्पादनलाई सकारात्मक ढंगले मूल्यांकन गर्नुपर्नेमा जोड दिँदै उत्कृष्ट काम गर्ने कर्मचारीको मनोबल बढाउन सम्मान र प्रोत्साहन आवश्यक रहेको बताइन्। कमजोरी देखिएमा सुधारका लागि छलफल, परामर्श र आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ थियो।

मन्त्री खड्काले महिला नेतृत्वप्रति रहेको परम्परागत सोच परिवर्तन गर्नुपर्ने बताइन्। अवसर पाए महिलाले पनि प्रभावकारी रूपमा नेतृत्व र कार्यसम्पादन गर्न सक्ने उल्लेख गर्दै उनले सार्वजनिक निकायमा महिलाको सहभागिता र नेतृत्वलाई व्यवहारमै सशक्त बनाउनुपर्ने धारणा राखिन्।

स्थानीय निर्वाचनलाई समेत ध्यानमा राख्दै प्रदेश तथा जिल्लामा सञ्चालन भइरहेका विकास योजनाहरू समयमै सम्पन्न गर्न उनले कार्यालय प्रमुखहरूलाई निर्देशन दिइन्। माघ मसान्तभित्र सम्भव भएसम्म योजना तथा कार्यक्रमहरू सम्पन्न गर्ने गरी काम अघि बढाउनुपर्ने र निर्वाचन आचारसंहिता लागू हुनुअघि विकास निर्माणका कामलाई गति दिनुपर्ने उनको भनाइ थियो।

त्यसका लागि ठेक्कामार्फत सञ्चालन हुने आयोजना तथा उपभोक्ता समितिबाट हुने काममा प्रदेश, स्थानीय तह र सम्बन्धित कार्यालयबीच प्रभावकारी समन्वय गर्नुपर्ने मन्त्री खड्काले बताइन्।

कार्यक्रममा कार्यालय प्रमुखहरूको तर्फबाट सहभागी अधिकारीहरूले प्रदेश सरकारका मन्त्रीहरूले दिएका निर्देशन तथा अपेक्षा पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका थिए। उनीहरूले कार्यालयको कामलाई समयमै र प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

Next Post

निर्धारित संवैधानिक र कानुनी प्रक्रियाबाट सरकार अघि बढ्छ : मन्त्री खड्का

१५ आश्विन २०८३, बिहीबार १०:४२
रुकुम पश्चिम । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं सरकारका प्रवक्ता कल्याणी खड्काले सरकारका कार्यविधि, विधेयक तथा कानुन निर्माणमा असहमति हुनु स्वाभाविक भए पनि निर्धारित संवैधानिक र कानुनी प्रक्रियाबाट सरकार अघि बढ्ने बताएकी छन्। जिल्ला समन्वय कार्यालयमा आयोजित छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले कुनै […]