नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ। निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल, मट्टितेल तथा हवाइ इन्धनको मूल्यमा कटौती गरिएको हो।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य घटाइएको छ। त्यस्तै, आन्तरिक उडानतर्फ प्रयोग हुने हवाइ इन्धनमा प्रतिलिटर ६ रुपैयाँले मूल्य घटाइएको छ। घटाइएको नयाँ मूल्य बिहीबार बिहानदेखि लागू भएको निगमले जनाएको छ।
निगमले भारतीय आयल निगमबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको स्पष्ट पारेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनलाई मध्यनजर गर्दै उपभोक्तालाई केही राहत दिन यो कदम चालिएको निगमको भनाइ छ।
यस्तै, अन्तर्राष्ट्रिय उडानतर्फ प्रयोग हुने हवाइ इन्धनमा भने प्रति किलोमिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको छ। तर, एलपीजी ग्यासको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन र यथावत् राखिएको छ।







