नेदरल्यान्ड्ससँग २ रनले पराजित, महिला टी–२० विश्व छनोटमा नेपालको लगातार दोस्रो हार

  ।   ८ माघ २०८२, बिहीबार १३:२४

काठमाडौं। आईसीसी महिला टी–२० विश्वकप विश्व छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा नेपाल नेदरल्यान्ड्ससँग अन्तिम ओभरसम्म संघर्ष गरे पनि २ रनले पराजित हुन पुग्यो।

१४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३८ रन मात्र जोड्न सक्यो। जित नजिक पुगेर पनि अन्तिम समयमा चुक्दा नेपालको सुपर सिक्स पुग्ने सम्भावना झन् कठिन बनेको छ।

यसअघि ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रनको योगदान दिइन्। स्टेर कालिसले ३० रन बनाउँदा रोबिन रिकेले १९ रन जोडिन्। आइरिस ज्विलिङ १४ रनमा अविजित रहिन्।
नेपालतर्फ बलिङमा रुबिना क्षेत्री प्रभावशाली रहँदै २ विकेट लिन सफल भइन्। रिया शर्मा, सुमन विष्ट र पूजा महतोले समान १–१ विकेट लिए।

दश टोली सहभागी प्रतियोगिताबाट शीर्ष चार टोलीले सन् २०२६ को जुनमा इंग्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन्। नेपाल यसअघि आफ्नो पहिलो खेलमा थाइल्यान्डसँग पनि पराजित भएको थियो।

अब नेपालले प्रतियोगितामा बाँकी खेलहरूमा जित निकाल्दै अंकतालिकामा सुधार गर्ने लक्ष्य राखेको छ। आगामी खेल नेपालका लागि ‘गर या मर’ जस्तै हुने भएकाले टोलीले ब्याटिङमा निरन्तरता र बलिङमा कडाइ आवश्यक देखिएको छ। घरेलु मैदानको फाइदा उठाउँदै नेपालले पुनरागमन गर्ने आशा समर्थकहरूले गरेका छन्।

नेदरल्यान्ड्स भने यस जितसँगै सुपर सिक्स चरणमा प्रवेश गर्न सफल भएको छ।

Next Post

जाजरकोटमा अवैध जडिबुटी ओसारपसार, १९ क्विन्टल सिस्नोको जरा सहित ट्रक नियन्त्रणमा

८ माघ २०८२, बिहीबार १३:२४
जाजरकोट। जाजरकोटको बारेकोट गाउँपालिकाबाट अवैध रूपमा जडिबुटी निकासी गर्न लागिएको अवस्थामा प्रहरीले ठूलो परिमाणको सिस्नोको जरा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बारेकोट गाउँपालिका–२ स्थित लिम्सा बजार नजिकको सडक खण्डमा विशेष सवारी जाँचका क्रममा उक्त जडिबुटी फेला परेको हो। प्रहरीले सल्यान जिल्लाको शारदा नगरपालिका–१२ निवासी २३ वर्षीय निमराज […]