जाजरकोटमा अवैध जडिबुटी ओसारपसार, १९ क्विन्टल सिस्नोको जरा सहित ट्रक नियन्त्रणमा

  ।   ८ माघ २०८२, बिहीबार १९:२४

जाजरकोट। जाजरकोटको बारेकोट गाउँपालिकाबाट अवैध रूपमा जडिबुटी निकासी गर्न लागिएको अवस्थामा प्रहरीले ठूलो परिमाणको सिस्नोको जरा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बारेकोट गाउँपालिका–२ स्थित लिम्सा बजार नजिकको सडक खण्डमा विशेष सवारी जाँचका क्रममा उक्त जडिबुटी फेला परेको हो।

प्रहरीले सल्यान जिल्लाको शारदा नगरपालिका–१२ निवासी २३ वर्षीय निमराज वि।क। सुनारलाई ट्रकसहित नियन्त्रणमा लिएको छ। घाँट बजारबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ख ३७१३ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा ४६ वटा प्लास्टिकका बोरामा प्याक गरिएको अन्दाजी १९ क्विन्टल ‘पहेंलो जडी’ अर्थात् सिस्नोको जरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बरामद गरिएको जडिबुटीका लागि आवश्यक पर्ने वन कार्यालयबाट जारी गरिने छुटपुर्जी तथा अन्य कुनै पनि आधिकारिक कागजात नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ। अवैध रूपमा संकलन तथा ओसारपसार गरिएको आशंकामा जडिबुटी, ट्रक र चालकलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय जाजरकोटमा बुझाइएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधिर कुमार खड्काका अनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ। अवैध जडिबुटी ओसारपसार नियन्त्रणका लागि जिल्लामा निगरानी कडा बनाइएको प्रहरीले जनाएको छ।

Next Post

कालीकोटमा प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट सुरु, खेलमैदान निर्माणका लागि ३० लाख बजेट

८ माघ २०८२, बिहीबार १९:२४
कालीकोट। कालीकोट जिल्लामा प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ। जिल्ला क्रिकेट सङ्घ कालीकोटको आयोजनामा मान्मस्थित श्री चन्द्रदेव माध्यमिक विद्यालयको खेलमैदानमा उद्घाटन भएको हो । उद्घाटन समारोह खाँडाचक्र नगरपालिकाका नगर उपप्रमुख गणेश बहादुर शाहीले गरेका छन ।  उद्घाटन समारोहमा बोल्दै नगर उपप्रमुख शाहीले नगरपालिकाले क्रिकेट खेलको […]