सुर्खेत। सरकारले १४ वर्षअघि नै प्रतिबन्ध लगाएको पिरामिड शैलीको नेटवर्किङ व्यवसायमार्फत युवाहरू ठग्दै आएका स्काई ड्रिम इन्टरप्रेनर्सका सञ्चालक र कर्मचारीविरुद्ध ठगी मुद्दा दायर भएको छ। सुर्खेत जिल्ला प्रहरी कार्यालयले करिब ६४ लाख रुपैयाँ विगो मागसहित आठ जनामाथि जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीका अनुसार, रोजगारी दिलाउने प्रलोभन देखाएर स्काई ड्रिम इन्टरप्रेनर्स प्रालि र ग्लोबल ओरियन्स नेपाल प्रालिमार्फत एक सयभन्दा बढी युवाबाट ५० हजारदेखि दुई लाख रुपैयाँसम्म असुल गरिएको थियो।
गत साउन ५ गते प्रहरीले वीरेन्द्रनगर–३, मूलपानी चोकस्थित कार्यालयमा छापा मारेर संलग्नहरूलाई नियन्त्रणमा लिएको थियो। ‘प्रारम्भिक चरणमा पक्राउ परेकामाथि अनुसन्धान सम्पन्न गरी प्रतिवेदन पेश गरिएको छ, अझै नयाँ पीडितहरू सम्पर्कमा आइरहेका छन्,’ एसपी शाहीले बताए। उनका अनुसार यसअघि पनि वीरेन्द्रनगरसहित देशका विभिन्न शहरमा रोजगारी दिने भन्दै पिरामिड शैलीको व्यवसायमार्फत ठगी हुने घटना बढ्दै आएका छन्। सर्वोच्च अदालतले १४ वर्षअघि नै यस्ता गतिविधि गैरकानुनी ठहर गर्दै प्रतिबन्ध लगाएको थियो। तर पछिल्ला वर्षमा प्रत्यक्ष बिक्री ऐन २०७४ र नियमावली २०७६ को आडमा घुमाउरो तरिकाले इजाजतपत्र वितरण भएपछि यस्ता कम्पनीहरू फेरि सक्रिय बनेका छन्।
प्रहरी अनुसन्धानले देखाएको तथ्यअनुसार हालसम्म करिब दर्जन कम्पनीले विभिन्न नाममा दर्ता भई सामाजिक सञ्जालमार्फत सञ्जाल विस्तार गर्दै ठगी धन्दा चलाइरहेका छन्। सुर्खेतमा पक्राउ परेका स्काई ड्रिम इन्टरप्रेनर्सका सञ्चालकहरूले ग्लोबल ओरियन्स नेपाल प्रालिमा रोजगारी लगाइदिने भन्दै बेरोजगार युवाबाट रकम उठाएको पुष्टि भएको छ। कानुनले वस्तु वा सेवामा आधारित नभई केवल सदस्यता, शुल्क वा प्रलोभनमा आधारित नेटवर्किङलाई गैरकानुनी माने पनि यस्ता धन्दा खुलेआम भइरहेको प्रहरीको भनाइ छ। प्रहरीले यस्ता प्रलोभनमा नफस्न सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।