सुर्खेत। जुम्लाबाट सुर्खेततर्फ यात्रु बोकेर आइरहेको एक फोर्स गाडी कालीकोटमा दुर्घटनाग्रस्त हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गविन्दप्रसाद चौधरीका अनुसार, दुर्घटना शुक्रबार बिहान कर्णाली राजमार्गअन्तर्गत खाँडाचक्र नगरपालिका–१० को गोलुवा क्षेत्रमा भएको हो। कर्णाली प्रदेश ०९७६ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको बताइएको छ।
घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि कालीकोट जिल्ला अस्पताल लगिएको छ। अस्पताल स्रोतका अनुसार गम्भीर घाइतेहरूलाई थप उपचारका लागि तयारी भइरहेको छ।
स्थानीयवासी र सुरक्षाकर्मीको सहकार्यमा दुर्घटनापछि उद्धार कार्य सम्पन्न गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा चालकको नियन्त्रण गुम्नु दुर्घटनाको कारण हुन सक्ने देखिएको छ।