सुर्खेतमा फोर्स गाडी पल्टिँदा १९ जना घाइते, चारको अवस्था गम्भीर

  ।   ६ श्रावण २०८३, बुधबार १६:४१

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारी क्षेत्रमा बुधबार भएको सवारी दुर्घटनामा १९ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सिम्ता गाउँपालिकाबाट गुमीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०४९० नम्बरको फोर्स गाडी बिहान करिब ११स्४५ बजे अनियन्त्रित भई सडकमै पल्टिएको हो। गाडी सिम्ता गाउँपालिका–९ निवासी करिब ४३ वर्षीय गगन थापाले चलाएका थिए। दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी गुमीबाट प्रहरी सहायक निरीक्षक श्याम थापा को नेतृत्वमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय छिन्चु तथा प्रहरी चौकी मेहेलकुनाबाट थप प्रहरी परिचालन गरी घाइतेहरूको उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेमध्ये ४० वर्षीय गणेश वली, ५ वर्षीय रियाज शाही, ३९ वर्षीया भावना राई तथा ४० वर्षीय अर्का एक पुरुष को अवस्था गम्भीर छ। उनीहरूको कर्णाली प्रदेश अस्पताल, कर्णाली केयर अस्पताल र माया अस्पताल मा उपचार भइरहेको छ।

अन्य १५ जना घाइतेको भने मेहेलकुना अस्पताल, माया अस्पताल तथा कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ। अधिकांश घाइतेको टाउको, हातखुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको छ। दुर्घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

यस घटनापछि कर्णालीका ग्रामीण सडकमा सवारी सुरक्षाको अवस्था र चालकको सावधानीबारे पुनः प्रश्न उठेको छ। स्थानीयवासीले सडकको अवस्था सुधारसँगै नियमित प्राविधिक परीक्षण र सुरक्षित सवारी सञ्चालनमा सम्बन्धित निकायले थप ध्यान दिनुपर्ने माग गरेका छन्।

Next Post

सडक निर्माणमा भ्रष्टाचार, तत्कालीन उपाध्यक्ष सहित १० जनाविरुद्ध मुद्दा

६ श्रावण २०८३, बुधबार १६:४१
कालीकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालीकोटको पलाँता गाउँपालिकामा सडक निर्माण योजनामा अनियमितता गरी सरकारी रकम हिनामिना गरेको आरोपमा तत्कालीन उपाध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा सञ्चालन गरिएको बेल्केढुङ्गा–लेखनवाडा–दुर्सी–पागोटी सडक निर्माण योजना अन्तर्गत वास्तविक कार्यभन्दा […]