७ औँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट अधिकांश पदाधिकारी सर्वसम्मत, वरिष्ठ उपाध्यक्ष र महासचिव पद भने रिक्त
सुर्खेत । कर्णाली प्रदेश निर्माण व्यवसायी महासङ्घको नयाँ नेतृत्व चयन भएको छ। सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न महासङ्घको ७ औँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन बाट अध्यक्ष पदमा मानव बम निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम उम्मेदवार नामावलीअनुसार अध्यक्ष पदमा मानव बमको मात्र उम्मेदवारी परेपछि उनी सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित भएका हुन्। नयाँ नेतृत्व चयनसँगै महासङ्घले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति समेत पाएको छ।
निर्वाचन समितिका अनुसार अधिकांश पदमा एकल उम्मेदवारी परेकाले नेतृत्व सर्वसम्मत रूपमा चयन भएको हो। उपाध्यक्षमा तुलाराज शाही , सचिवमा नबिनकुमार थापा, कोषाध्यक्षमा मनोजकुमार सिंह तथा सहकोषाध्यक्षमा शिमिला खड्का निर्विरोध निर्वाचित भएका छन्।
त्यसैगरी कार्यसमिति सदस्यहरूमा मनबहादुर चँदरा, ठानबहादुर भण्डारी, रतनबहादुर शाही र खडकबहादुर शाही निर्विरोध चयन भएका छन्। पिछडिएको क्षेत्रतर्फको सदस्य पदमा ध्वजबहादुर शाही निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
यद्यपि, वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा प्रारम्भिक रूपमा उम्मेदवारी दर्ता भए पनि उम्मेदवारहरूले पछि आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ती दुवै पद हाल रिक्त रहेका छन्। महासंघको वरिष्ठ उपाध्यक्ष र महासचिव पहिलो बैठकबाट मनोनीत गर्ने सहमतिअनुसार वरिष्ठ उपाध्यक्षमा प्रदीप खड्का र महासचिवमा भरत डाँगी मनोनीत गरिने भएको छ।
अधिवेशनले नयाँ नेतृत्व चयनसँगै निर्माण व्यवसायीहरूको हकहित संरक्षण, निर्माण क्षेत्रमा देखिएका चुनौतीहरूको समाधान, गुणस्तरीय पूर्वाधार निर्माण, व्यवसायीहरूको क्षमता अभिवृद्धि तथा सरकारी निकायसँग प्रभावकारी समन्वयलाई आगामी कार्यकालको प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने विश्वास व्यक्त गरिएको छ।
नवनिर्वाचित अध्यक्ष मानव बमको नेतृत्वमा महासङ्घले कर्णाली प्रदेशका निर्माण व्यवसायीहरूको साझा आवाजलाई थप सशक्त बनाउँदै व्यावसायिक हित, पारदर्शिता र संस्थागत विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।








