सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। विगतमा बलियो पकड बनाउँदै आएको नेपाली कांग्रेस आफ्नो राजनीतिक विरासत जोगाउने तयारीमा जुटेको छ भने नेकपा (एमाले) लगायत अन्य दल कांग्रेसको दबदबा तोड्ने रणनीतिसहित चुनावी मैदानमा उत्रिएका छन्।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा कांग्रेसले क्लिन स्वीप गरेको थियो। निर्वाचन क्षेत्र नं. १ बाट कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ४२ हजार ६०७ मत प्राप्त गरी विजयी हुनुभएको थियो भने क्षेत्र नं. २ बाट पूर्वमन्त्री हृदयराम थानीले ३४ हजार ६२५ मतसहित जित हात पार्नुभएको थियो। ती दुवै क्षेत्रमा एमालेका उम्मेदवार ध्रुवकुमार शाही र अमृतबहादुर बुढाक्षेत्री पराजित हुनुभएको थियो।
तर यस पटकको निर्वाचनलाई विशेष र रोचक बनाउने पक्ष भनेको कांग्रेसका ती दुई ‘हेभिवेट’ नेताको अनुपस्थिति हो। खड्का २०४८ सालदेखि र थानी २०५१ सालदेखि लगातार विभिन्न निर्वाचनमा प्रतिस्पर्धा गर्दै आउनुभएको इतिहास छ। अनुभवी नेताहरू चुनावी दौडबाट बाहिरिनु कांग्रेसका लागि अवसर र चुनौती दुवैका रूपमा देखिएको छ।
एमालेको आक्रामक रणनीति, गठबन्धन नहुँदा फाइदाको दाबी
नेकपा (एमाले) ले यस पटक सुर्खेतलाई रणनीतिक महत्वको क्षेत्रका रूपमा लिँदै आक्रामक तयारी गरेको छ। एमालेले निर्वाचन क्षेत्र नं. १ मा ध्रुवकुमार शाही र क्षेत्र नं. २ मा कुलमणि देवकोटालाई उम्मेदवार बनाएको छ। अघिल्लो निर्वाचनमा शाही कांग्रेस उम्मेदवारसँग ९ हजार ६१९ मतले पराजित हुनुभएको थियो भने क्षेत्र नं. २ मा एमाले उम्मेदवार ५ हजारभन्दा बढी मतले पछि परेको थियो।
एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गङ्गाराम तिमिल्सेनाका अनुसार यस पटक सबै दल छुट्टाछुट्टै प्रतिस्पर्धामा उत्रिएकाले एमालेको जितको सम्भावना बलियो छ। अघिल्लो निर्वाचनमा गठबन्धनका कारण पराजय भोग्नुपरेको उल्लेख गर्दै उहाँले यस पटक पार्टी संगठन थप सुदृढ भएको दाबी गर्नुभयो।
कांग्रेसको भरोसा : विकास, संगठन र जनसमर्थन
उता कांग्रेस भने सुर्खेतमा आफ्नो राजनीतिक विरासत कायम रहनेमा आशावादी देखिएको छ। कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीका अनुसार विकास निर्माणका काम, जनसमर्थन र पार्टीभित्रको एकताले कांग्रेसलाई पुनः जिततर्फ डोर्याउने विश्वास छ।
कांग्रेसले निर्वाचन क्षेत्र नं. १ मा विष्णुबहादुर खड्का र क्षेत्र नं. २ मा नारायण कोइरालालाई उम्मेदवार बनाएको छ। नयाँ अनुहार भए पनि स्थानीय स्तरमा परिचित र संगठनसँग नजिक रहेका उम्मेदवार भएकाले कांग्रेसले मतदाताको भरोसा कायमै रहने अपेक्षा गरेको छ।
तेस्रो शक्ति र नयाँ दलको उपस्थितिले मत विभाजनको सम्भावना
यस निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सक्रिय रूपमा मैदानमा उत्रिएका छन्। नेपाली कम्युनिस्ट पार्टीले क्षेत्र नं. १ मा जितबहादुर राना र क्षेत्र नं. २ मा झकबहादुर मल्ललाई उम्मेदवार बनाएको छ। यस्तै रास्वपाले क्षेत्र नं. १ मा टेकबहादुर सिंह र क्षेत्र नं. २ मा रमेशकुमार सापकोटालाई अघि सारेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यी दलहरूको उपस्थितिले परम्परागत मताधारमा प्रभाव पार्दै मत विभाजनको सम्भावना बढाएको छ, जसको प्रत्यक्ष फाइदा वा नोक्सान मुख्य दलहरूलाई पर्न सक्छ।
समग्र आकलन
अनुभवी नेताको अनुपस्थिति, गठबन्धन विहीन प्रतिस्पर्धा र नयाँ राजनीतिक शक्तिको उदयका कारण सुर्खेतको निर्वाचन यस पटक अत्यन्त प्रतिस्पर्धात्मक र अनिश्चित देखिएको छ। कांग्रेसका लागि विरासत जोगाउने परीक्षा भने एमालेका लागि पुरानो हार उल्ट्याउने अवसर बनेको छ। मतदाताको अन्तिम निर्णयले नै सुर्खेतको राजनीतिक दिशा तय गर्नेछ।







