दीर्घ बहादुर शाही “डोक्काघरे”
सुदूरको यात्रामा,
चाक्ला सपना संगै
फराकिलो गन्तव्य बोकेर,
खुसीका कोमल बिस्कुन सुकाएझैँ
अनगिन्ती रहरहरू समेटेर
एउटा पुरानो थैलो
यात्रामा निस्किएको छ—
सुन्दर गन्तव्यको खोजीमा।
वृद्ध चेहरामा
इन्द्रेणीका रङहरू भर्दै,
जिन्दगीले एक्कासी पल्टा खाँदा
दुःखको अन्तिम क्षणमा
तिमिलाई सम्झिन्छु।
सुख कमाउने क्रममा
महिनौँ बितेको दिन,
थोरै तलब हात पर्दा पनि
त्यही क्षण—
तिमिलाई सम्झिन्छु।
माथिल्ला घरे राइला बाको छोराले
राइली भाउजूलाई
फूलबुट्टे मखमली सारी पठाउँदा,
त्यो दृश्यले पनि
तिमिलाई सम्झाउँछ।
पल्ला घरे काइलाले
काइली नानीलाई
रेशमी पछ्यौरा दिँदा,
त्यो रेशमको स्पर्शले
तिमिलाई सम्झिन्छु।
हुँदा हुँदा,
यात्रा सुदूर पुग्न छोडेको दिन पनि
तिमिलाई सम्झिन्छु।
बुढो कानमा
जवान गहना किन्ने सपना बोकेर
मुग्लान पसेको दिन,
साँघुरो जिउका लागि
खुल्ला वस्त्र छान्दा,
सुरिलो गलामा लामो हार लगाउने
इच्छा पलाउँदा—
हरेक चाहनामा
तिमिलाई सम्झिन्छु।
पर्खनुभन्दा
आवेगमा बगेको दिन,
सुदूरलाई सम्झिन्छु—
किनकि
अप्ठ्यारोमा तिमी र सुदूर
खासै फरक रहेनौ।
त्यसैले,
मर्छु जस्तो लागेको दिन
बेस्सरी सम्झिन्छु—
किनकि
तिमी र सुदूर
जहिले पनि
याद बनेर
मेरो नजिक आइरह्यौ।







