सुदूरपश्चिमको दोस्रो पटक पनि अधुरो सपना, लुम्बिनीको हातमा एनपीएल ट्रफी

  ।   २७ मंसिर २०८२, शनिबार १९:०१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जित्दै नयाँ इतिहास रचेको छ । रोमाञ्चक फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलो पटक एनपीएलको ट्रफी उचालेको हो ।

सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले नवौँ ओभरको अन्तिम बलमै चार विकेट गुमाएर पूरा गर्‍यो । बलिङ र ब्याटिङ दुवै पक्षमा सन्तुलित प्रदर्शन गर्दै लुम्बिनीले फाइनलमा दबाबलाई अवसरमा बदल्न सफल भयो ।

लगातार दोस्रो पटक फाइनलमा पुगे पनि सुदूरपश्चिम रोयल्सको उपाधि जित्ने सपना भने फेरि अधुरै रह्यो । पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम यसपटक पनि उपविजेतामै सीमित हुन पुग्यो ।

प्रतियोगिताको सुरुवात उत्साहजनक रहे पनि सुदूरपश्चिमको ब्याटिङ फाइनलमा कमजोर देखियो । टस जितेर पहिले ब्याटिङ गरेको टोली १९ दशमलव एक ओभरमै ८५ रनमा समेटियो । ईशान पाण्डेले ५१ बल खेलेर बनाएको ३३ रन बाहेक अन्य ब्याट्सम्यानले अपेक्षित योगदान दिन सकेनन् ।

लुम्बिनीका बलरहरूले सुरुदेखि नै दबाब सिर्जना गर्दै सुदूरपश्चिमलाई ठूलो स्कोर बनाउन दिएनन् । कसीएको बलिङकै कारण लुम्बिनीले सहज लक्ष्य पाएको थियो ।

जवाफमा लुम्बिनीका ओपनर दिनेश अधिकारीले आत्मविश्वासपूर्ण ब्याटिङ गर्दै ४२ रन बनाएर जितको आधार तयार गरे । डार्सी सर्टले १३, कप्तान रोहित पौडेलले १८ रनको योगदान दिए । अन्त्यमा निरोशन डिक्वेला (११) र दिलिप नाथ (१) अविजित रहँदै टोलीलाई ऐतिहासिक जित दिलाए ।

यो उपाधि लुम्बिनी लायन्सका लागि अझ विशेष रह्यो, किनकि प्रतियोगिताको सुरुवातमा लगातार तीन खेल हार्दै दबाबमा परेको टोलीले त्यसपछि लगातार जित निकाल्दै उत्कृष्ट कमब्याक गरेको थियो । संघर्ष, धैर्य र टिमवर्कको उदाहरण प्रस्तुत गर्दै लुम्बिनीले अन्ततः एनपीएल सिजन–२ को च्याम्पियन बन्ने गौरव हासिल गर्‍यो ।

Next Post

कर्णाली–सुदूरबाट नेकपा एक नम्बर शक्ति बन्छः प्रचण्ड

२७ मंसिर २०८२, शनिबार १९:०१
कुलमानप्रति कटाक्ष, ओलीले बेवास्ता गरेको जडीबुटी बेचेर आत्मनिर्भर बन्न सकिने दाबी सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम बाट सुरु भएको एकता कर्णाली सम्म पुग्दा एकता अभियानले नेकपालाई देशको पहिलो राजनीतिक शक्ति बनाउने दाबी गरेका छन्। शनिबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले […]