ताडीका युवा कांग्रेस–एमाले छाड्दै रास्ववामा ३३ युवा प्रवेश

  ।   २७ मंसिर २०८२, शनिबार ०८:३१

कालीकोट । खाँडाचक्र नगरपालिका–३ ताडीमा परम्परागत ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले कमजोर हुँदै गएपछि युवाहरूको आकर्षण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ तीव्र रूपमा बढेको देखिएको छ। स्थानीय राजनीतिक वृत्तमा यस क्षेत्रको शक्ति सन्तुलन तीव्र गतिमा परिवर्तन भइरहेको विश्लेषण गरिएको छ।

ताडी क्षेत्रमा कांग्रेस र एमालेका सक्रिय सदस्य रहेका ३३ जना स्थानीय युवाले पछिल्लो साता सामूहिक रूपमा दुवै दल परित्याग गरी रास्वपामा प्रवेश गरेका छन्। पार्टी प्रवेश सहभागी युवाहरूले स्वच्छ छवि, नयाँ सोच, पारदर्शिता र प्रभावकारी नेतृत्व नै रास्वपा रोज्नुको मुख्य कारण रहेको बताएका छन्।

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार ताडीमा भइरहेको निरन्तर युवा स्थानान्तरणले आगामी स्थानीय तह निर्वाचनमा कांग्रेस र एमाले दुवैले ठूलो राजनीतिक क्षति व्यहोर्न सक्ने संकेत गरेको छ। साथै, यसले तेस्रो शक्तिका रूपमा रास्वपाको प्रभाव गाउँस्तरमै मजबुत बन्दै गएको देखाउँछ।

वडा नम्बर ३ मा २०७४ सालको स्थानीय निर्वाचन नेपाली कांग्रेसले र २०७९ सालको निर्वाचन एमालेले जितेको थियो। तर निर्वाचित नेतृत्वले आफ्ना आफन्त तथा पार्टी आसेपासेलाई प्राथमिकता दिएको आरोप लागेपछि युवाहरू निराश बनेको र त्यसकै परिणामस्वरूप पार्टी परिवर्तन गरेको उनीहरूको भनाइ छ।

यद्यपि पछिल्लो समय दुवै दलका दर्जनौँ युवाले पार्टी छोडेपछि आगामी निर्वाचनमा यसको प्रत्यक्ष फाइदा  नेपाली कम्युनिस्ट पार्टीले लिन सक्ने स्थानीयको विश्लेषण छ।

यसैबीच, रास्वपा खाँडाचक्र–३ का स्थानीय नेतृत्वले युवाहरूको बढ्दो विश्वासलाई सम्मान गर्दै संगठनलाई अझ सशक्त बनाइने बताएका छन्। रास्वपा वडा नम्बर ३ का युवा नेता प्रमेश्वर पाण्डेले प्रतिक्रिया दिँदै भने, “वडामा विकास, पारदर्शिता र जिम्मेवार नेतृत्वका लागि रास्वपा अब बलियो विकल्पका रूपमा स्थापित हुँदै गएको छ।”

ताडी क्षेत्रमा रास्वपा प्रवेशको क्रम अझै रोकिएको छैन। हालसम्म वडा नम्बर ३ मा मात्र ३३ जना युवा औपचारिक रूपमा पार्टीमा प्रवेश गरिसकेका छन् भने अन्य केही युवाहरू पनि छिट्टै प्रवेश गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ। कांग्रेस र एमालेबाट भइरहेको निरन्तर बहिर्गमनले ताडीको राजनीतिक समीकरण नयाँ मोडतर्फ उन्मुख भएको स्पष्ट संकेत गर्दछ।

Next Post

लैङ्गिक हिंसा न्यूनीकरणमा योगदान दिने सहजकर्ताहरू सम्मानित

२७ मंसिर २०८२, शनिबार ०८:३१
सुर्खेत । युरोपियन युनियन र युएनएफपीएको आर्थिक सहयोग तथा सानीभेरी गाउँपालिकाको समन्वयमा सोसेक नेपालद्वारा सञ्चालित “सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रमअन्तर्गत कार्यरत सबै सहजकर्ताहरूलाई एक भव्य कार्यक्रमका बीच सम्मान गरिएको छ। सानीभेरी गाउँपालिकामा कार्यक्रमको अपनत्व ग्रहण गर्दै विद्यालयहरूमा सञ्चालन भएको रूपान्तरण कक्षा सहजीकरण गर्ने आठ जना सहजकर्ता, परिवार संवादमा सहजीकरण गर्ने […]