लैङ्गिक हिंसा न्यूनीकरणमा योगदान दिने सहजकर्ताहरू सम्मानित

  ।   २७ मंसिर २०८२, शनिबार १२:१४

सुर्खेत । युरोपियन युनियन र युएनएफपीएको आर्थिक सहयोग तथा सानीभेरी गाउँपालिकाको समन्वयमा सोसेक नेपालद्वारा सञ्चालित “सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रमअन्तर्गत कार्यरत सबै सहजकर्ताहरूलाई एक भव्य कार्यक्रमका बीच सम्मान गरिएको छ।

सानीभेरी गाउँपालिकामा कार्यक्रमको अपनत्व ग्रहण गर्दै विद्यालयहरूमा सञ्चालन भएको रूपान्तरण कक्षा सहजीकरण गर्ने आठ जना सहजकर्ता, परिवार संवादमा सहजीकरण गर्ने तीन जना समुदाय सहजकर्ता तथा अन्तरपुस्ता संवाद सहजीकरण गर्ने तीन जना युथ च्याम्पियनहरूको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै गाउँपालिकाले दोसल्ला ओढाइ प्रशंसा पत्रसहित सम्मान गरेको हो।

“सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रमअन्तर्गत सानीभेरी गाउँपालिकामा विशेषगरी लैङ्गिक हिंसा रोकथाम, सामाजिक रूपमा हानिकारक मूल्य–मान्यतामा परिवर्तन, लैङ्गिक हिंसा प्रतिकार्य, तथा महिलाको आर्थिक सशक्तिकरणमार्फत लैङ्गिक समानता प्रवर्द्धनका लागि विभिन्न समुदाय–आधारित क्रियाकलापहरू सञ्चालन हुँदै आएका छन्। साथै जीविकोपार्जनमा समेत सहयोग पुर्‍याइँदै आएको छ। कार्यक्रमका कारण पालिकामा विद्यमान हानिकारक सामाजिक सोच र व्यवहारमा क्रमशः सकारात्मक परिवर्तन देखिन थालेको गाउँपालिका अध्यक्ष श्री बिर्ख बहादुर बिष्टले बताउनुभयो।

सम्मान कार्यक्रम उपाध्यक्ष कमला रोका पुनको अध्यक्षता, गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्टको प्रमुख आतिथ्य तथा प्रमुख प्रशासकीय अधिकृत नरविर खड्काको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख लिला शर्माले गर्नुभएको थियो।

कार्यक्रममा प्रशासन शाखा प्रमुख गणेश खड्का, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा कार्यरत बाल अधिकार अधिकृत मानविर ओली, तथा विभिन्न विषयगत शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष बिष्टले थोरै लगानीमा समुदाय र विद्यालयस्तरका किशोर–किशोरीमा आएको चेतना तथा व्यवहार परिवर्तन, जस्तै बालविवाह न्यूनीकरण, लैङ्गिक हिंसा नियन्त्रण, लागुऔषध दुर्व्यसन रोकथामलगायत क्षेत्रमा सहजकर्ताहरूको योगदानको उच्च सम्मान गर्नुभयो। उहाँले भन्नुभयो, “सोसेक नेपालद्वारा सञ्चालित यस कार्यक्रममार्फत तपाईंहरू १४ जना समुदाय परिवर्तनका वाहक र विकासका कर्मीका रूपमा तयार हुनुभएको छ। अब तपाईंहरू जुनसुकै क्षेत्रमा पनि सक्षम रूपमा योगदान दिन सक्नुहुन्छ, यो गर्वको विषय हो।”

त्यसैगरी उपाध्यक्ष कमला रोका पुनले समाज विकासका लागि भौतिक पूर्वाधारसँगै नागरिकको चेतनाको विकास अनिवार्य रहेको उल्लेख गर्दै यस क्षेत्रमा सहजकर्ताहरू र सोसेक नेपालको योगदानको प्रशंसा गर्नुभयो। उहाँले भूकम्पका बेला सोसेक नेपालले पुर्‍याएको सहयोगको स्मरण गर्दै आगामी दिनमा पनि युएनएफपीए र सोसेक नेपालबाट पालिकाको समग्र विकासमा निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नुभयो।

प्रमुख प्रशासकीय अधिकृत नरविर खड्काले नेपाल सरकार र स्थानीय सरकारले लिएका लक्ष्य तथा दिगो विकास लक्ष्य हासिल गर्न संघ–संस्थाको भूमिका महत्वपूर्ण हुने बताउँदै सो अभियानमा सोसेक नेपालको योगदानको उच्च सम्मान गर्नुभयो।

अन्त्यमा, आगामी दिनमा सोसेक नेपालसँग निरन्तर सहकार्यको अपेक्षा व्यक्त गर्दै कार्यक्रमका अध्यक्ष तथा सानीभेरी गाउँपालिकाका उपाध्यक्ष कमला रोका पुनले सम्मान कार्यक्रमको समापन गर्नुभयो।

Next Post

सुदूरपश्चिमको दोस्रो पटक पनि अधुरो सपना, लुम्बिनीको हातमा एनपीएल ट्रफी

२७ मंसिर २०८२, शनिबार १२:१४
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जित्दै नयाँ इतिहास रचेको छ । रोमाञ्चक फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलो पटक एनपीएलको ट्रफी उचालेको हो । सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले नवौँ ओभरको अन्तिम बलमै चार विकेट गुमाएर पूरा गर्‍यो । […]

सम्बन्धित शीर्षक