कालिकोट । कालीकोट जिल्लाको रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना हुने सरकारी निर्णयपछि रास्कोटसहित आसपासका स्थानीय तहमा खुसियाली छाएको छ।
रास्कोट नगरपालिका, सान्नीत्रिवेणी, पचालझरना, पलाता र नरहरिनाथ गाउँपालिकालाई लक्षित गर्दै प्रदेश निर्वाचन क्षेत्र नम्बर ‘ख’ का लागि रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय अर्थ मन्त्रालयले शुक्रबार गरेसँगै स्थानीयमा उत्साह थपिएको हो।
वर्षौंदेखि उठ्दै आएको माग पूरा भएको भन्दै रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले सरकारको निर्णयप्रति खुसी व्यक्त गरे। “अब सामान्य प्रशासनिक सेवाका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भएको छ,” उनले भने, “नागरिकता बनाउन मात्रै कम्तीमा तीन दिनको समय र करिब तीन हजार रुपैयाँ खर्च हुने अवस्थाबाट नागरिकले मुक्ति पाउनेछन्।”
नगरपालिकाका उपप्रमुख मनिराज बरालका अनुसार यसअघि रास्कोटसहित वरपरका करिब ७० हजार बासिन्दा नागरिकता लगायतका सेवा लिन सदरमुकाम जान बाध्य थिए। “संघीयताको मर्मअनुसार नागरिकलाई सहज र नजिकबाट सेवा दिने राज्यको यो निर्णय स्वागतयोग्य छ,” उनले भने।
मन्त्रीपरिषद्बाट इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय सार्वजनिक भएपछि रास्कोट नगरपालिकामा दिप प्रज्वलन गरेर खुसियाली मनाइएको छ। स्थानीयले यो निर्णयले प्रशासनिक सेवा प्रवाहमा नयाँ युगको सुरुवात हुने विश्वास व्यक्त गरेका छन्।







