सुर्खेत । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं सरकारका प्रवक्ता कल्याणी खड्काले भू–तथा जलाधार व्यवस्थापन कार्यालय, वीरेन्द्रनगरको अनुगमन गर्दै बजेट खर्चलाई परिणाममुखी बनाउन र जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिनुभएको छ।

अनुगमनका क्रममा मन्त्री खड्काले कार्यालयबाट सञ्चालित कार्यक्रम, भौतिक तथा वित्तीय प्रगति, जनशक्ति व्यवस्थापन, बजेट कार्यान्वयन र जलाधार संरक्षणका क्षेत्रमा भइरहेका कामबारे जानकारी लिनुभएको थियो। कार्यालय प्रमुखले बजेट व्यवस्थापन, पुँजीगत खर्च, कर्मचारी अभाव तथा कार्यक्रम कार्यान्वयनमा देखिएका चुनौतीबारे मन्त्रीसमक्ष जानकारी गराउनुभएको थियो।

मन्त्री खड्काले तीन तहका सरकारबीच कार्यक्रम दोहोरिने अवस्था अन्त्य गरी आवश्यकता र प्राथमिकताका आधारमा बजेट तथा योजना केन्द्रित गर्नुपर्ने बताउनुभयो। विशेषगरी वन, कृषि तथा जलाधार संरक्षणसँग सम्बन्धित कार्यक्रमहरूबीच समन्वय गरी स्रोतको प्रभावकारी उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

उहाँले जलाधार संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै बढी जोखिममा रहेका क्षेत्र पहिचान गरेर कार्यक्रम सञ्चालन गर्न निर्देशन दिनुभयो। नदी तथा खोलाको किनारमा गरिएका तटबन्धन, वृक्षरोपणलगायतका काम स्थलको वास्तविक आवश्यकता र प्राविधिक अध्ययनका आधारमा मात्र सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो।
वृक्षरोपण कार्यक्रमलाई औपचारिकतामा सीमित नराखी बिरुवा उत्पादनदेखि रोपण, संरक्षण र हुर्काउने अवस्थासम्मको जिम्मेवारी सुनिश्चित गर्नुपर्ने बताउँदै मन्त्री खड्काले सरकारी लगानीको दुरुपयोग हुन नदिन सम्बन्धित कार्यालय गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो।
मन्त्री खड्काले चालु आर्थिक वर्षका कार्यक्रम समयमै सम्पन्न गर्न आवश्यक प्रक्रिया तत्काल अघि बढाउन र देखिएका कानुनी तथा प्रक्रियागत समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्न निर्देशन दिनुभयो।
उहाँले “बजेट खर्च गर्नु मात्र उपलब्धि होइन, त्यसको परिणाम जनताले अनुभूति गर्ने गरी काम हुनुपर्छ” भन्दै कार्यालयको कार्यसम्पादनलाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन कर्मचारीलाई निर्देशन दिनुभयो।







