कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिका आपसमा स्वार्थ बाझिँदा अदालतमा मुद्दा हाल्ने र नगरपालिकाको विकासे बजेट खर्च गर्ने जनप्रतिनिधिको चलन जस्तै भइसकेको छ ।
बजेट चलाउन पाएनौँ, नगरपालिका प्रमुखले एकलौटी गरे, उपप्रमुख कोषमा बजेट भएन, वडाध्यक्षले बजेट चलाउन पाएनन्’ जस्ता विषयमा कुरा नमिल्दा जनप्रतिनिधि अदालतसम्म पुक्नु भयको छ । मुद्दा लड्दा जनप्रतिनिधिले पालिकाकै बजेट खर्च गर्ने गरेको पाइएको छ । कालीकोटको खाँडाचक्र नगरपालिकाका ११ मध्ये १० वटा वडाका अध्यक्षले नगर प्रमुखविरुद्ध अदालतमा मुद्दा हाल्दा नगरपालिकाको २४ लाख ७१ हजार ७३२ रुपियाँ खर्च भएको छ । हालै सार्वजनिक गरिएको महालेखा परीक्षकको प्रतिवेदनमा २०८० पुस २२ गते भौचरमार्फत विभिन्न १० व्यक्ति र एक फर्मलाई नेपालगन्ज, सुर्खेत, जुम्ला कार्यालयका पदाधिकारी, वडाध्यक्षसमेतले गाडी भाडाबापत छ लाख ८३ हजार रुपियाँ खर्च गरेको उल्लेख छ ।
उच्च अदालत सुर्खेत जुम्ला अन्तर्गत जुम्ला इजलासमा दायर गरिएको मुद्दाको कामका सिलसिलामा खाँडाचक्र नगरपालिकाले सरकारी ढुकुटीबाट भाडा मात्रै छ लाख ८३ हजार रुपियाँ खर्च गरेको छ भने खाना होटेलको बासबापत १८ लाख ४८ हजार २३२ रुपियाँ गरी जम्मा २४ लाख ७१ हजार ७३२ रुपियाँ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख गरेको पाइएको छ । योमध्ये छ लाख ८३ हजार असुलउपर गर्न पनि भनेको छ । यो रकम नगरपालिकाको भवन निर्माण शीर्षकबाट रकमान्तर गरी खर्च गरेकाले असुलउपर गर्न भन्दै यस्तो नियमविपरीत काम नगर्न सुझावसमेत दिनु भयको छ । यस विषयमा खाँडाचक्र नगरपालिकाका प्रमुख कमलबहादुर शाहीले भने अनभिज्ञता प्रकट गर्रनु भयो। उहाँले आफूलाई यस विषयमा जानकारी नभएको भन्दै वडाध्यक्षले बेकारमा झमेला गरेका कारणले खर्च हुँदा आफूलाई पनि पछुतो लागेको उल्लेख गर्रनु भयो । जनप्रतिनिधिबिचको मुद्दा भएकाले खर्च यतैबाट भयो होला यो राम्रो होइन भनी प्रमुख शाहीको प्रतिक्रिया दिनु भयो ।
मुद्दा जुम्ला इजलासमा भए पनि रकम खर्च भने सुर्खेत, नेपालगन्जका होटेलमा बढी भएको पाइएको छ । जुम्ला इजलासमा खर्च भएको शीर्षक राखेर सुर्खेतको न्यु मानसरोवर होटेलमा ६२ हजार ६०२, निर्वाणा होटेल एन्ड रिसोर्ट प्रालि सुर्खेतमा चार लाख, होटेल लेकाली सुर्खेतमा ९३ हजार ८२० गरी जम्मा रकम पाँच लाख ५६ हजार ४२२ रुपियाँ असुलउपर गर्न भनेको छ । यो रकम होटेलबाट असुलउपर हुन्छ कि नगरपालिकाले शीर्षक बदलेर असुल गरेको महालेखा परीक्षकको तथ्याङ्कमा उल्लेख छ । यस विषयमा निमित्त प्रमुख प्रशासकीय अधिकृत जसीप्रसाद चौलागाईंले असुलउपर गर्नुभनेको रकम अनिवार्य गर्नुपर्ने भए पनि जनप्रतिनिधिले यसमा चासो नदिएका कारणले समस्या हुँदै आएको बताउनुभयो। यसरी नगरपालिका तथा गाउँपालिकाका जनप्रतिनिधिले मनलाग्दी खर्च गर्न गर्रनुभयकोे छ। यस्ता खर्चले स्थानीय तहको बेरुजु बढ्नुका साथै आर्थिक अनियमितता पनि मौलाउँदै गएको छ ।
यस्तै दुई वटा स्थायी लेखा नम्बर राखेर मूल्य अभिवृद्धि करमा दर्ता नभएको लेखासमेतमा नगरपालिकाले स्विस खाजाघर एन्ड रेस्टुरेन्टमा तीन लाख ४५ हजार भुक्तानी गरेको पाइएको छ । होटेललाई हतियार बनाएर भष्टाचार गर्ने नियतले यो रकम भुक्तानी भएको स्थानीयको गुनासो छ । खाँडाचक्र नगरपालिकाका स्थानीय मनिराज पाण्डेले छलछाम गरेर, बहाना बनाएर होटेलका नाममा भुक्तानी गर्ने र रकम फिर्ता माग्ने परिपाटी अनुसार यसरी भुक्तानी भएको बताउनु भयको छ । महालेखाले स्विस खाजाघरमा भुक्तानी गरिएको तीन लाख ४५ हजार पनि असुल गर्न भन्नु भयको छ ।







