रोल्पाली लेखक अमर अधिकारीको लेख किन भाइरल भयो ?

  ।   ३ बैशाख २०८२, बुधबार १४:५३

जुम्ला । हिजोआज साहित्य-लेखनमा चर्चित व्यक्तिको नाम लिनुपर्दा अमर अधिकारीको नाम लिनु उचित ठहरिन्छ, उनी पूर्वप्रशासक पनि हुन्। १६ वर्ष संस्थान सेवा र २३ वर्ष निजामती सेवा गरी करिब ३९ वर्ष सरकारी सेवामा बिताएका अमर अधिकारी पौने तीन वर्षअघि अनिवार्य अवकाश लिएपछि एकाएक चर्चामा आएका छन्। उनका दिनमा ३.४ वटासम्म लेख-रचनाहरु प्रकाशन भएको इतिहास छ।

गत एकवर्षको अवधिमा उनका दुई सयभन्दा बढी लेख-रचनाहरु प्रकाशन भएका छन्। उनका हरेक लेखहरु अन्य लेखकहरुको लेखभन्दा दोब्बर तेब्बर र त्योभन्दा बढी सेयर गरिएको पाइन्छ। उनी ४२ वर्ष काठमाडौँ र त्यसमा पनि १२ वर्ष सिंहदरबारमा बिताएका हुँदा पञ्चायतकालदेखि गणतन्त्रसम्ममा आइपुग्दा जनताले भोगेका तमाम समस्याहरु उनका लेखहरुमा छर्लङ्ग पारिएको हुन्छ। उनका हरेक लेखहरु पढेपछि मात्र देशको हालत बारे जानकारी हासिल गर्न सकिन्छ।

२०८१ साउन १८ गते देशकै ठूलो सञ्चार माध्यमको रुपमा चिनिएको अनलाइनखबरमा प्रकाशित ‘बालबालिकालाई संस्कार सिकाउने १९ सूत्र’ शीर्षकको उनको लेख प्रकाशन भएको छ महिनापछिसम्म पनि पाठकहरुबाट फैलाउने गरिएको छ। एक किसिमले भन्नुपर्दा सो लेख भाइरल हुनपुगेको छ। लेखको शीर्षक हेर्दा नै ज्ञान(चेताको विषयमा भएकाले पनि उक्त लेख सर्वाधिक लोकप्रिय बन्न पुगेको हो।  पूर्व इलामदेखि पश्चिम डडेलधुरासम्मका तमाम सञ्चार माध्यमहरुले महत्वका साथ उक्त लेख प्रकाशन गरेको देखिएको छ। इलामको इलामबखरडटकम र डडेलधुराको रेडियोअमरगढीले उक्त लेख प्रकाशन गरेका छन्।

त्यस्तै नेपालरफ्तारडटकम, पञ्चपुरीडटकम, न्युजइननेपालडटकम, दैनिकपत्रडटकम, सुदुरपूर्वडटकम, तिलोत्तमासिटीन्युजडटकम, नयाँबुलन्दडटकम, वीरगंजसञ्जालडटकम, तराईटपडटकमले उक्त लेख महत्वका साथ प्रकाशन गरेको पाइएको छ। उक्त लेख कुनै कुनै मिडियाले फेसबुकमा समेत सम्प्रेषण गरेका छन्। अधिकारीको उक्त लेख अनलाइनखबरले पछिल्लो समय आफ्नो वेबस्टोरीमा समेत व्यवस्थित गरेको छ। अन्य अनलाइन सञ्चार माध्यमहरु र कागजी खबरहरुले समेत उक्त लेख प्रकाशन गरेका हुनसक्छन्। अभिभावकहरुको नजर पुगोस् भनेर उनको सो लेख विद्यालयको सूचना पाटीमा समेत टाँसिएको छ। अधिकारीको उक्त लेख प्रकाशन भएपछि अन्य लेखकहरुले पनि सो लेखको शीर्षकसँग मिल्दोजुल्दो शीर्षक राखेर र पेटबोलीका मिल्दाजुल्दा शब्दहरु राखेर लेखहरु लेख्नेगरेको पाइएको छ। लेखक अधिकारी भन्छन् । “यसरी लेख लोकप्रिय बन्नु मेरा लागि धेरै नै खुशीको कुरा हो, मेरा कतिपय लेखहरुका कारण राष्ट्रियस्तरमै सुधारका कामहरु पनि हुँदैआएका छन्।“ उनले साहित्य-लेखनको क्षेत्रमा आधा दर्जनभन्दा बढी राष्ट्रियस्तरमा कीर्तिमान गरिसकेका छन् भने त्यतिकै संख्यामा उपाधिहरुसमेत हासिल गरेका छन्। ‘सुपर राइटर’ उनको पछिल्लो उपाधि हो। निकट भविष्यमा आफ्नो जन्मथलो खुंग्रीमा ‘त्रिपुरा पुस्तकालय’ स्थापना गर्ने योजना बनाएका अधिकारीलाई काठमाडौँस्थित केही प्रकाशनगृहहरु, प्राज्ञहरु, साहित्यिक संस्थाहरुले समेत पुस्तक प्रदान गर्दैआएका छन् र कतिपयले पुस्तकहरु प्रदान गर्ने प्रतिवद्धा समेत जनाइसकेका छन्। लेखक तथा साहित्यकार अधिकारी सादा जीवन उच्च विचारमा विश्वास राख्दछन्। अधिकारीका एक मात्र सुपुत्र डा. सरित अधिकारी ‘सलिल’ अमेरिकाको पेन्सिलभेनियास्थित टेम्पल युनिभर्सिटीमा प्राध्यापक तथा वैज्ञानिकको रुपमा अध्ययनरत तथा कार्यरत छन्।

उनले अमेरिकाकै सिकागोस्थित युआइसि युनिभर्सिटीबाट पिएचडि पूरा गरेर टेम्पल युनिभर्सिटीबाट पोस्ट-पिएचडि गर्दैछन्। तैपनि लेखक अधिकारीमा कुनै किसिमको अहंकार देखिदैन। उनको नाममा भौतिक सम्पत्ति भने सून्यप्रायः छ। उनमा तडकभडक पनि छैन। अधिकारीका हरेक लेखहरु पढेर जसले पनि उनीबाट प्रेरणा लिन सकिन्छ। उनमा प्रकृतिप्रेम र देशभक्ति ज्यादा देखिन्छ।

Next Post

कालिकोटबासीको मन जित्दै लोकप्रियता बढाउदै एकीकृत समाजवादी

३ बैशाख २०८२, बुधबार १४:५३
कालिकोट । राजनीतिक दलहरुप्रति बितृष्णा बढीरहेको समयमा कालिकोटमा भने नेकपा (एकीकृत समाजवादी) एकाएक लोकप्रिय बन्दै गएको छ । नेतृत्वमा सक्रियका साथै लोकप्रिय र निस्कलंकित युवापङ्तिको बाहुल्यता हुनुले समाजवादीप्रति आकर्षण बढ्न थालेको हो । एक दशक राष्ट्रिय मिडीयाका साथै सामाजिक संगठनहरु र नेकपा(एमाले)मा कार्यलय सचिव हुँदै दुई कार्यकाल अधिवेशनका चुनावी प्रक्रियाबाट […]