सुर्खेत । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालबाट समुद्घाटन हुने भएको छ । कात्तिक २६ र २७ हुने कर्णाली प्रदेश प्रथम अधिवेशनमा जम्मा ५ सय २ जना प्रतिनिधि सहभागी हुने छन् ।
सुर्खेतको सिद्धार्थ वहुउद्देश्यीय सहकारी संस्थाको सिद्धार्थ सभागृह, शनिहललाईन वीरेन्द्रनगरमा यही कार्तिक २६ गते बिहान ११ बजे उद्धघाटन हुने गरी मिति तय भएको अधिवेशनका लागि कर्णाली प्रदेशमा जम्मा ५ सय २ जना प्रतिनिधि सहभागी हुने केन्द्रीय कमिटी सदस्य तथा कर्णाली प्रचार बिभाग प्रमुख बसन्त कुमार विश्वकर्माले बताउनुभयो ।
उहाँका अनुसार प्रदेश अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू कर्णालीका २४ वटै प्रदेश निर्वाचन क्षेत्रबाट छनोट भैसकेका छन् । जसअनुसार सुर्खेत १७, दैलेख ३०, कालिकोट ४१, मुगु ४१, डोल्पा २८, जाजरकोट २९ , रुकुम पश्चिम १८, सल्यान ४९, जुम्ला, ३८ , हुम्लामा १३, गरी जम्मा ३ सय ४ जना प्रतिनिधिहरू निर्वाचित भएका छन् ।
त्यसैगरी पार्टीको प्रदेश सम्पर्क मञ्च र प्रदेशस्तरीय कमिटी भएका हरेक जनसङ्गठनहरूबाट निर्धारण गरे बमोजिम १८ जना प्रतिनिधि निर्वाचित भएकाछन् । यसरी छनोट भएका प्रतिनिधिहरूमध्ये समावेशी तर्फ महिला १२८, दलित ६५, जनजाति ५१ र अन्य ३३१ गरी जम्मा ५०२ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने कर्णाली प्रचार बिभाग प्रमुख विश्वकर्माले बताउनुभयो ।