जुम्ला । जुम्लामा चार करोडको लागतमा खानेपानी आयोजना निर्माण गरिने भएको छ । तिला गाउँपालिका–१ रारागाउँमा गत आर्थिक वर्षमा पालिकाले ६ करोडको ठेक्का आह्वान गरेकामा चार करोडमा निर्माण कम्पनी शिवदेउती सुलोचना बजु जेभीसँग सम्झौता भएको छ ।
सो काम तीन वर्षभित्रमा आयोजना पूरा हुनेछ । पहिलो चरणमा आयोजनाका निम्ति आवश्यक पर्ने सामग्री खरिद गर्न सुरु भएको छ । आयोजनाका लागि सङ्घीय सरकारबाट विशेष अनुदानअन्तर्गत एक करोड ५० लाख प्राप्त भएको थियो । आयोजनाका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) बाट ९५ लाख र पालिकाले एक करोड १० लाख व्यहोर्नेछ ।
आयोजना पूरा भएपछि तिलाका दुई सय ६० परिवार लाभान्वित हुने गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाका बताउनुभयो । तिला–६ बाट रारागाउँ मुहानसम्म १५ किलोमिटर लामो संरचना निर्माण गर्नुपर्ने अध्यक्षको भनाई छ ।
यसैबीच, कनकासुन्दरी गाउँपालिका–४ स्थित भैसेडी भएर बग्ने हिमा नदीमा पक्की पुल निर्माण भएको छ । पुल निर्माणसँगै यातायातका साधन पनि सञ्चालनमा आएका छन् । पूर्वाधार विकास कार्यालयले उक्त पुल मूल्यअभिवृद्धि करसहित चार करोड ३२ लाख ६३ हजारमा निर्माण गरेको हो । यो पुल ३० मिटर लामो रहेको छ ।