रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–२ निवासी सुत्केरी प्यारी पुनको स्वास्थ्य अवस्था जटिल बनेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको छ।
चौरजहारी नगर अस्पताल मा आकस्मिक शल्यक्रिया (इमर्जेन्सी अपरेशन) पश्चात् पुनमा अत्यधिक रक्तस्राव (पोस्टपार्टम हेमोरेज) भएको र अवस्था थप गम्भीर बन्दै गएपछि विशेषज्ञ उपचार आवश्यक परेको थियो।
प्रमुख जिल्ला अधिकारी निशानराज गौतम का अनुसार चिकित्सकको सल्लाहबमोजिम तत्काल उच्चस्तरीय उपचार आवश्यक देखिएकाले राष्ट्रपतिको महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरको व्यवस्था गरी पुनलाई प्रादेशिक अस्पताल सुर्खेत पठाइएको हो।
उहाँका अनुसार दुर्गम भौगोलिक अवस्थाका कारण स्थलमार्गबाट समयमै उपचार सम्भव नभएकाले हवाई उद्धारको विकल्प अपनाइएको हो। समयमै गरिएको उद्धारले बिरामीलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुगेको उहाँले बताउनुभयो।
परिवारले पनि दुर्गम क्षेत्रमा स्वास्थ्य सेवामा पहुँचको चुनौतीका बीच सरकारले उपलब्ध गराएको हवाई उद्धार सेवाले पुनको ज्यान जोगाउने आशा बढाएको प्रतिक्रिया दिएको छ।
रुकुम पश्चिमसहित कर्णालीका दुर्गम जिल्लाहरूमा जटिल प्रसूति तथा आकस्मिक स्वास्थ्य समस्या भएका बिरामीलाई राष्ट्रपतिको महिला उत्थान कार्यक्रममार्फत आवश्यकताअनुसार निःशुल्क हेलिकोप्टर उद्धारको व्यवस्था हुँदै आएको छ। यस कार्यक्रमले दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई समयमै विशेषज्ञ उपचार केन्द्रसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।






