कालिकोटमा ५७ जना एचआइभी संक्रमित, रोकथाम र सचेतनामा अझै चुनौती

  ।   २६ जेष्ठ २०८३, मंगलवार १४:३२

कालिकोट । कालिकोट जिल्लामा एचआइभी संक्रमणको अवस्था चिन्ताको विषय बन्दै गएको छ। उपचार सेवा विस्तार र सरकारी प्रयासका बाबजुद संक्रमण रोकथाम, नियमित परीक्षण तथा समुदायस्तरको सचेतनामा अझै कमजोरी देखिएको सरोकारवालाहरूले बताएका छन्। पछिल्लो तथ्यांकअनुसार जिल्लामा एचआइभी संक्रमितको संख्या ५७ पुगेको छ।

कालिकोटस्थित एआरटी ९एन्टिरेट्रोभाइरल थेरापी० केन्द्रको अभिलेखअनुसार हालसम्म ७५ जना संक्रमित दर्ता भएका छन्। तीमध्ये ५७ जना कालिकोटका स्थायी बासिन्दा हुन् भने १८ जना अन्य जिल्लाका नागरिकले पनि यही केन्द्रबाट उपचार तथा परामर्श सेवा लिइरहेका छन्।

एआरटी काउन्सिलर तथा एचआइभी फोकल पर्सन ईश्वर शाहीका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा संक्रमणको अवस्था असमान छ। सबैभन्दा बढी संक्रमित नरहरिनाथ गाउँपालिकामा रहेका छन्, जहाँ ३२ जना संक्रमित दर्ता भएका छन्। खाँडाचक्र नगरपालिकामा १०, सान्नीत्रिवेणी गाउँपालिकामा ४, तिलागुफा नगरपालिकामा ३, पलाँता गाउँपालिकामा ३, शुभकालिका गाउँपालिकामा २, रास्कोट नगरपालिकामा २ तथा पचालझरना गाउँपालिकामा १ जना संक्रमित रहेका छन्। महाबै गाउँपालिकामा भने हालसम्म संक्रमितको दर्ता नभएको केन्द्रले जनाएको छ।

वैदेशिक रोजगारीसँग जोडिएको जोखिम

स्वास्थ्यकर्मीहरूका अनुसार जिल्लामा देखिएको संक्रमणको एउटा प्रमुख कारण वैदेशिक रोजगारी र लामो समय घरबाहिर बसाइ हो। यौन स्वास्थ्यसम्बन्धी पर्याप्त जानकारीको अभाव, असुरक्षित यौन सम्पर्क, संक्रमित रगत वा सूई–सिरिन्जको प्रयोग तथा संक्रमित आमाबाट शिशुमा संक्रमण सर्नु एचआइभी फैलिनुका मुख्य कारण मानिन्छन्।

विशेषज्ञहरूका अनुसार धेरै व्यक्तिहरूमा संक्रमण भएको वर्षौंसम्म कुनै स्पष्ट लक्षण नदेखिन सक्छ। यही कारण समयमै परीक्षण नगर्दा संक्रमणको अवस्था जटिल बन्ने र उपचारमा ढिलाइ हुने गरेको छ।

परीक्षणप्रति आकर्षण बढे पनि पर्याप्त छैन

जिल्लामा पछिल्ला वर्षहरूमा एचआइभी परीक्षण गराउनेहरूको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ। विभिन्न स्वास्थ्य संस्था र अभियानमार्फत निःशुल्क परीक्षण सेवा उपलब्ध भए पनि जोखिम समूहका सबै व्यक्तिहरू परीक्षणको पहुँचमा पुग्न नसकेको अवस्था छ। ग्रामीण क्षेत्रमा अझै पनि एचआइभी परीक्षणलाई लिएर डर, संकोच र सामाजिक कलंक विद्यमान रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

उपचार सम्भव, सामान्य जीवन बाँच्न सकिने

स्वास्थ्य विज्ञहरूका अनुसार एचआइभी आफैंमा मृत्युको कारण बन्ने रोग होइन। समयमै पहिचान गरी नियमित रूपमा एआरटी औषधि सेवन गरे संक्रमित व्यक्तिले लामो, स्वस्थ र उत्पादनशील जीवन बिताउन सक्छन्। सरकारले देशभर निःशुल्क एआरटी सेवा उपलब्ध गराइरहेको छ भने कालिकोटमा पनि संक्रमितहरूलाई नियमित औषधि, परामर्श तथा स्वास्थ्य निगरानी सेवा प्रदान हुँदै आएको छ।

कलंक र विभेद अझै चुनौती

एचआइभी संक्रमित व्यक्तिहरूले स्वास्थ्य समस्यासँगै सामाजिक विभेदको सामना गर्नुपर्ने अवस्था अझै पूर्ण रूपमा अन्त्य हुन सकेको छैन। स्वास्थ्यकर्मीहरूका अनुसार एचआइभी हात मिलाउँदा, सँगै खाना खाँदा, अँगालो हाल्दा, एउटै घरमा बस्दा वा सामान्य सामाजिक सम्पर्कबाट सर्दैन। त्यसैले संक्रमितप्रति नकारात्मक धारणा हटाई सम्मानजनक व्यवहार गर्न आवश्यक छ।

संयुक्त प्रयासको आवश्यकता

सरोकारवालाहरूले संक्रमण नियन्त्रणका लागि स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था, नागरिक समाज, युवा क्लब तथा सञ्चारमाध्यमबीच थप समन्वय आवश्यक रहेको बताएका छन्। विद्यालयस्तरदेखि यौन तथा प्रजनन स्वास्थ्य शिक्षा प्रभावकारी बनाउने, जोखिम समूहमा नियमित परीक्षण विस्तार गर्ने र समुदायस्तरमा कलंकविरुद्ध अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

कालिकोटमा एचआइभी संक्रमितको संख्या ५७ पुग्नु केवल स्वास्थ्य क्षेत्रको चुनौती मात्र नभई सामाजिक सचेतना, व्यवहार परिवर्तन र सामुदायिक उत्तरदायित्वसँग जोडिएको विषय भएको सरोकारवालाहरूको भनाइ छ। उनीहरूका अनुसार संक्रमण रोकथामका लागि नियमित परीक्षण, सुरक्षित यौन व्यवहार, समयमै उपचार र कलंकमुक्त समाज निर्माण नै सबैभन्दा प्रभावकारी उपाय हुन्।

Next Post

पञ्चदेव माविमा सर्वसम्मत विद्यालय व्यवस्थापन समिति गठन अध्यक्षमा बिर्खसिंह विश्वकर्मा

२६ जेष्ठ २०८३, मंगलवार १४:३२
कालिकोट । खाँडाचक्र नगरपालिका–१ स्थित पञ्चदेव माध्यमिक विद्यालय मा विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रूपमा गठन भएको छ। नवगठित समितिको अध्यक्षमा बिर्खसिंह विश्वकर्मा चयन हुनुभएको छ भने सदस्यहरूमा गायत्रा शाही, दमनबहादुर शाही र निर्मला संज्याल (बराल) रहनुभएको विद्यालयले जनाएको छ। नवनिर्वाचित पदाधिकारीहरूलाई अभिभावक, शिक्षक तथा स्थानीय सरोकारवालाहरूले बधाई तथा सफल कार्यकालको […]

सम्बन्धित शीर्षक