सुर्खेत । विश्व वातावरण दिवस २०८२ को अवसरमा बिरेन्द्रनगर नगरपालिकाको आयोजना तथा बिरेन्द्रनगर जुनियर जेसिजको समन्वयमा सञ्चालन गरिएको “ –‘Trash Collection Race- दोस्रो संस्करण” कार्यक्रम बिहीबार बिरेन्द्रनगरमा भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता बिरेन्द्रनगर जुनियर जेसिजका अध्यक्ष किशोर न्यौपानेले गरेका हुन भने प्रमुख अतिथिका रूपमा बिरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालको उपस्थिति रहेको थियो। कार्यक्रममा नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बसकोटा विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
वातावरण संरक्षण तथा सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा बिरेन्द्रनगरका १२ वटा विद्यालयहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा विद्यार्थी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी, सामाजिक अभियन्ता तथा स्वयंसेवकहरू गरी २५० भन्दा बढी सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतिस्पर्धात्मक तथा जनसहभागितामूलक ढंगले सञ्चालन गरिएको अभियानका क्रममा १८ टन फोहोर संकलन गरिएको आयोजकले जनाएको छ। सहभागी विद्यार्थीहरूको उत्साह, अनुशासन र वातावरणप्रतिको जिम्मेवारीबोधले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो।
कार्यक्रमलाई सफल बनाउन विभिन्न सुरक्षा निकाय, सामाजिक संघसंस्था, स्वयंसेवक तथा स्थानीय समुदायले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। सरसफाइ अभियानमार्फत वातावरण संरक्षण केवल सरकारी निकायको जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको सन्देश प्रवाह गरिएको आयोजकको भनाइ छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोहनमाया ढकालले वातावरणीय चुनौतीहरू सामना गर्न युवा पुस्ताको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो। उहाँले यस्ता अभियानले नागरिकमा व्यवहारिक परिवर्तन ल्याउने र स्वच्छ, हरित तथा सुन्दर बिरेन्द्रनगर निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
बिरेन्द्रनगर जुनियर जेसिजका अध्यक्ष किशोर न्यौपानेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण विद्यालय, सुरक्षा निकाय, स्वयंसेवक, सामाजिक अभियन्ता तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी वर्षहरूमा अझ व्यापक सहभागितासहित अभियानलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
१८ टन फोहोर संकलन, १२ विद्यालयको सहभागिता र २५० भन्दा बढी व्यक्तिको सक्रिय उपस्थितिसहित सम्पन्न भएको “ –‘Trash Collection Race दोस्रो संस्करण” बिरेन्द्रनगरमा वातावरण संरक्षण र सामुदायिक सहभागिताको उत्कृष्ट उदाहरणका रूपमा स्थापित भएको छ।







