कालिकोट । परिवर्तन आफैँबाट सुरु हुन्छ भन्ने प्रेरणा बोकेर स्वाभिमान युवा संजाल तथा नरहरीनाथ गाउँपालिका–०९, लालुका युवाहरुले १३ दिनको लगातार श्रमदानमार्फत ऐतिहासिक पोख्राको चौतारो पुनर्निर्माण गरेका छन्।

समाज परिवर्तनका सुन्दर उदाहरणहरू यदि कतै देखिन्छन् भने त्यो गाउँघरका जागरुक युवाहरूको अग्रसरतामा नै सम्भव हुन्छ। यही उदाहरण प्रस्तुत गर्दै युवाहरुले श्रम, समय र उत्साहको समर्पणमार्फत हराएको पहिचान पुनः जोगाएका छन्। चौतारो अब दैनिक आवतजावत गर्ने स्थानीय, सर्वसाधारणका लागि आराम, भेटघाट र सामुदायिक एकताको केन्द्र बन्नेछ।
वडामा पछिल्लो समय विभिन्न क्लब तथा संजालहरुको सक्रियता बढ्दो क्रममा छ। युवाहरूले गरेका नमुना कामहरूले सामाजिक चेतना मात्र बढाएको छैन, गाउँपालिको विकास यात्रामा नयाँ उमंग पनि थपिएको छ।
वडा अध्यक्ष प्रदीप बोहराले भने —“यो चौतारो स्थानीय समुदायको गौरव हो। योजना निर्माणदेखि सम्पन्नतासम्म प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति वडाको तर्फबाट उच्च सम्मानसहित हार्दिक धन्यवाद व्यक्त गर्दछु। युवाहरूको समर्पण नै वडाको पहिचान हो।”
केही दिनअघि अध्यक्ष बोहरा स्वयं चौतारो अवलोकन गर्न पुग्दा युवाहरूको मेहनत र प्रतिबद्धताले आफू अत्यन्त हर्षित भएको बताए ।
सामुदायिक एकता, जनश्रम र दूरदृष्टिको संयोजनमा सम्पन्न यो कार्य वडाको इतिहासमा अनुकरणीय उदाहरणका रूपमा रहनेछ। गाउँवासिले समेत यसलाई “समाजसेवामा युवाको प्रेरणादायी कदम” भन्दै प्रशंसा गरेका छन्।








