कालिकोट । नेपाली कांग्रेस सुधार अभियानले कालिकोट जिल्लामा खगेन्द्र पाण्डेलाई जिल्ला संयोजकको रूपमा मनोनयन गरेको छ। ४० वर्षमुनिका युवालाई पार्टीका सबै तहमा ४०% प्रतिनिधित्व सुनिश्चित गर्ने मुख्य एजेण्डा सहित सञ्चालन भइरहेको ‘कांग्रेस सुधार अभियान–अन्डर ४०’ अन्तर्गत पाण्डेलाई जिम्मेवारी प्रदान गरिएको हो।
पार्टीभित्र बर्सौंदेखि जरा गाडेर बसेको भ्रष्टाचार उखेलेर सुशासनको नयाँ संस्कृतिको स्थापना गर्ने दृढ संकल्पसहित यो अभियान अघि बढाइएको संयोजक पाण्डेले बताएका छन्। आगामी १५औं महाधिवेशनमा नेतृत्व छनोटदेखि नीतिगत निर्णयसम्म युवाको प्रभावकारी भूमिकालाई संस्थागत गर्न अभियानले सक्रिय सहभागिता जनाइरहेको छ।
पाण्डेको नेतृत्व र अनुभव
पाण्डे हाल कर्णाली जेसिज वर्ष २०२५ का अध्यक्ष हुनुका साथै तिला–कर्णाली बहुमुखी क्याम्पसमा स्ववियु सचिव दोस्रो पटक निर्वाचित भइसकेका युवा अगुवा हुन्। उनी स्थानीय समाजसेवा, शैक्षिक सुधार र युवा परिचालनमा सक्रिय भूमिकाका कारण गाउँ–समुदायमा प्रभावशाली युवा व्यक्तित्वका रूपमा परिचित छन्।
युवालाई संगठनसँग जोडेर स्थानीय तहमै नेतृत्व विकास गर्नुपर्ने आवश्यकताका बीच पाण्डेलाई महत्वपूर्ण जिम्मेवारी दिइनु अभियानको रणनीतिक निर्णयका रूपमा हेरिएको छ।
सुधार अभियानप्रति बढ्दो उत्साह
जिल्ला–जिल्लामा अभियानको सक्रियता बढ्दै जाँदा धेरै युवा र पेशागत समूहहरू पार्टीभित्र सकारात्मक परिवर्तनको आकांक्षासहित संलग्न हुँदै आएका छन्। पाण्डेले स्थानीय स्तरमा राजनीतिक सचेतना, उत्तरदायित्व, पारदर्शिता र सामाजिक उत्तरदायित्वयुक्त नेतृत्व विकासका कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।
उनका अनुसार, “कांग्रेसलाई जिम्मेवार, अनुशासित र जनमुखी बनाउनु आजको प्राथमिक आवश्यकता हो। युवाले नेतृत्वमा आए मात्र संगठन बलियो हुन्छ।” भन्ने कुरामा जोड दिए ।








