अपडेट

राष्कोट दलित बस्तीका घरघरमै धारा जडान : पुस्तौँदेखिको खानेपानीको संकट अन्त्य

  ।   १२ असार २०८२, बिहीबार १४:१८

कालीकोट । कालीकोटको रास्कोट नगरपालिका–३ का दलित बस्तीहरूमा घरघरमै धारा जडान भएसँगै पुस्तौँदेखिको खानेपानीको संकट अन्त्य भएको छ।

सागाटिया, कुमालवाडा र नैकलाटोलका १७८ घरधुरीमा पाँच किलोमिटर टाढाको मुहानबाट पानी ल्याएर ‘एक घर, एक धारा’ योजना अन्तर्गत पानी पुर्‍याइएको हो।

यसबाट अब स्थानीयलाई घण्टौं टाढाबाट पानी बोकेर ल्याउने बाध्यता हटेको छ। “एक गाग्री पानी ल्याउन बिहानभरि लाग्थ्यो, घरमा धारा आउला भन्ने कल्पनै थिएन,” एक स्थानीय महिला भन्छिन्, “अब बचेको समयमा आम्दानीको काम गर्न थालेका छौं।”

यो योजना हेल्भेटास नेपाल र रास्कोट नगरपालिकाको आर्थिक सहयोग तथा हुरेन्डेक नेपाल, कालीकोटको प्राविधिक सहजीकरणमा सम्पन्न भएको हो। हुरेन्डेक नेपाल कालीकोटका उपाध्यक्ष खडान्द्र अधिकारीका अनुसार करिब डेढ करोड रुपैयाँको लागतमा दुई वटा आयोजना मार्फत यो कार्य सम्पन्न गरिएको हो। योजनामा स्थानीयको श्रमदान महत्त्वपूर्ण रहेको थियो।

खानेपानीसँगै सरसफाइ सुधारका लागि भाँडा सुकाउने ठाउँ, फोहोर फाल्ने खाडललगायत संरचनाहरू पनि निर्माण गरिएको छ, जसले बस्तीको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको छ।

रास्कोट नगरपालिकाका मेयर धर्मराज शाहीले यो आयोजना नगरपालिकाको नमुना योजना भएको बताउँदै यसको संरक्षण र दीगो प्रयोगमा सबैलाई जिम्मेवार बन्न आग्रह गरे।

उपमेयर मनिराज वरालले यस योजनाले सामाजिक न्यायलाई व्यवहारमा उतारेको बताए। “विकट दलित बस्तीमा शुद्ध पानी पुर्‍याएर हामीले विभेद अन्त्यको दिशामा सानो तर महत्वपूर्ण कदम चालेका छौं,” उपमेयर वरालले भने, “अब सरसफाइ र मर्मतमा स्थानीयको सक्रियता आवश्यक छ।”

त्यस्तै, हेल्भेटास नेपालका क्षमता विकास विज्ञ नीलकण्ठ पाण्डेले पानीका लागि संघर्ष गरिरहेका नागरिकलाई सहजता ल्याउन सकिएकोमा खुसी व्यक्त गर्दै मर्मत सम्भारमा ध्यान दिन आग्रह गरे।

बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको यस योजनापछि स्थानीय जयराम सार्कीले भने, “एक जनाको काम नै बिहानभरि पानी ल्याउने हुन्थ्यो, अब त्यो बाध्यता हटेको छ। गाउँलेले बल्ल सुखको अनुभूति गरेका छन्।”

Next Post

जुम्लामा तेस्रो पालिका स्तरीय शैक्षिक सामग्री प्रदर्शनी तथा पढाइ मेला सुरु

१२ असार २०८२, बिहीबार १४:१८
जुम्ला । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र बालबालिकाको सिकाइ विकासका लागि शैक्षिक सामग्री प्रदर्शनी तथा तेस्रो पढाइ मेला आयोजना गरिएको छ । जुम्लाको हिमा गाउँपालिकाले पालिका स्तरीयमा तेस्रो पालिका स्तरीय शैक्षिक सामग्री प्रदर्शनी तथा पढाइ मेला आयोजना गरेको हो । बालबालिकाको सीप र क्षमताको प्रदर्शनलाई प्रोत्साहन गर्न उद्देश्यले शुक्रबार र […]