मध्यपहाडी राजमार्गमा खसेको पहिरो नहटाउँदा दुर्घटनाको जोखिम

  ।   ५ पुष २०८१, शुक्रबार १३:०१
सांकेतिक तस्बिर

रुकुमपश्चिम । मध्यपहाडी राजमार्ग अन्तर्गतमा खसेको पहिरो वर्ष दिनसम्म पूर्ण रूपमा नहटाउँदा दुर्घटनाको जोखिम रहेको छ ।

गत वर्ष जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले सडक चिरा पारेको थियो भने केही स्थानमा पहिरो गएको थियो । त्यसपछि वर्षाका कारण पनि सडकका विभिन्न स्थानमा पहिरो गएको थियो । करिब एक दर्जन स्थानमा खसेको पहिरो अझैसम्म पूर्ण रूपमा पन्छाइएको छैन ।

सानीभेरी गाउँपालिका–१ को चाइनाबगर, वडा नं. २ को गिठाकोट, वडा नं. ७ को सहरे, वडा नं. ९ को खारखोला, मुसीकोट नगरपालिका–१४ को छिवाङजिउला, वडा नं. ३ को खरखरेलगायतका स्थानको पहिरो अझैसम्म पूर्ण रूपमा हटाइएको छैन । तत्कालीन अवस्थामा सडकको एकातर्फको भागबाट यातायातका साधन आवजावतका लागि पहिरोको केही भाग हटाइए पनि वर्षदिनसम्म राजमार्गको पहिरो यथावत् रहेको सानीभेरी गाउँपालिका–९ का नारायण ओलीले बताए ।

उनका अनुसार यी स्थानमा पटक पटक दुर्घटनासमेत हुने गरेका छन् । सडकको आधी भाग ओगटेको पहिरो पन्छाउन कोहीकसैको पनि चासो नरहेको तर दुर्घटना निम्त्याउने जोखिम बढेको उनको भनाइ छ ।

रुकुमपश्चिमका निमित्त प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले लामो समयसम्म राजमार्गको पहिरो पूर्ण रूपमा नहटाउँदा दुर्घटनाको जोखिम रहेको उल्लेख गरे । यस विषयमा सम्बन्धित निकायलाई यथाशक्य पहिरो पन्छाउन निर्देशन दिइसकेको उनले बताए । बाटो चलेकै त छ भनेर बेवास्ता गरिएमा दुर्घटना हुन सक्ने भएकाले राजमार्गलाई चुस्त राख्न आवश्यक रहेको उनको भनाइ छ ।

यस विषयमा सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख तेजस्वी शर्माले तत्कालै सडकको पहिरो हटाइने बताए । केही स्थानमा चट्टान नै झरेको कारण सोही अनुसारको उपकरण प्रयोग गर्नुपर्ने भएकाले ढिलाइ भएको उनको भनाइ छ । करिब एक हप्ताभित्रै सबै पहिरो पूर्ण रूपमा पन्छाइसक्ने डिभिजन प्रमुख शर्माले उल्लेख गरे । चट्टानबाहेकका स्थानको पहिरो भने तुरुन्तै हटाउने गरी आवश्यक समन्वय भइरहेको उहाँले जानकारी दिए ।

मध्यपहाडी राजमार्गको ६७ किलोमिटर सडकखण्ड रुकुमपश्चिममा रहेको छ । त्यसमध्ये ६१ किलोमिटर सडकखण्ड डिभिजन कार्यालयलाई हस्तान्तरण भइसकेको छ । मुसीकोट नगरपालिकाको साँखधुरीदेखि रुकुमपूर्वको सिमाना खोपीचारसम्मको छ किलोमिटर क्षेत्रमा ठेक्का लागेर काम भइरहेको छ । यो क्षेत्रको किटनीमा कडा चट्टान र ठुलो पहिरोको जोखिम रहेकाले तीव्र रूपमा काम हुन सकेको छैन ।

Next Post

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ३२ दिन पछि खुल्यो

५ पुष २०८१, शुक्रबार १३:०१
जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ताला खुलेको छ । लामो समयदेखि स्थायी रूपमा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारीको स्तरवृद्धि र नियमावलीअनुसारको तलबभत्ता नपाएको विषयलाई लिएर सुरू भएको आन्दोलन स्थगन भएको छ । आन्दोलनरत शिक्षक तथा कर्मचारीका अनुसार उपकुलपतिबाट माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता प्राप्त भएपछि बिहीबारदेखि आन्दोलनका […]