गण्डकी प्रदेशमा डेंगु संक्रमित ८११ पुग्दा स्वास्थ्य सतर्कता बढाइयो

  ।   १ भाद्र २०८२, आईतवार ०९:३१

सुर्खेत। गण्डकी प्रदेशमा डेंगु संक्रमण फेरि तीव्र रुपमा बढ्दै गएको छ। प्रदेश स्वास्थ्य मन्त्रालयका तथ्याङ्कअनुसार गत पुसयता हालसम्म ८११ जनामा डेंगु पुष्टि भएको छ। पछिल्लो तीन सातामात्रै २०२ नयाँ बिरामी थपिएका छन्। सबैभन्दा बढी संक्रमण कास्कीमा देखिएको छ, जहाँ हालसम्म ४४१ जना संक्रमित भएका छन्। त्यसपछि तनहुँमा १२०, लमजुङमा ९३, गोरखामा ५८, बागलुङ र स्याङ्जामा ३२–३२, पर्वतमा २०, म्याग्दीमा १०, नवलपुरमा ४ र मुस्ताङमा १ जना डेंगु संक्रमित फेला परेका छन्। मनाङमा भने यस वर्ष अहिलेसम्म संक्रमण भेटिएको छैन।

प्रदेशभरका संक्रमितमध्ये आधाभन्दा बढी बिरामी पोखरा महानगरपालिकामा मात्र छन्। पोखरामा हालसम्म ४३२ जनामा डेंगु संक्रमण देखिएको छ, जसमा पछिल्लो तीन सातामात्रै १२९ नयाँ संक्रमित थपिएका छन्। गत वर्ष पोखरा महानगर डेंगुको सबैभन्दा ठूलो ‘हटस्पट’ बनेको थियो। सोही अवधिमा महानगरभित्र मात्रै ८६ सयभन्दा बढीलाई डेंगु लागेको थियो, जसका कारण तीन जनाले ज्यान गुमाएका थिए। विशेषज्ञहरूले साउनदेखि कात्तिकसम्मको अवधि डेंगु फैलिन सबैभन्दा जोखिमपूर्ण हुने भएकाले आगामी हप्तामा संक्रमितको संख्या अझै बढ्ने अनुमान गरेका छन्।

संक्रमण नियन्त्रणका लागि प्रदेश स्वास्थ्य मन्त्रालय, स्थानीय तह र सम्बन्धित निकायहरूले अभियानलाई तीव्र पारेका छन्। घर, कार्यालय तथा सार्वजनिक स्थलमा लामखुट्टे प्रजनन हुने खाल्डाखुल्डी, पुराना टायर, ड्रम र भाँडाकुँडामा पानी जम्मा हुन नदिने कार्यलाई प्राथमिकतासाथ अघि बढाइएको छ।स्वास्थ्यकर्मीहरूका अनुसार ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु फैलिने भएकाले व्यक्तिगत सतर्कता अपरिहार्य छ। लामखुट्टे काट्न नदिने, पानी जम्ने ठाउँ नष्ट गर्ने र सरसफाइमा ध्यान दिनु नै डेंगु नियन्त्रणको मुख्य उपाय भएको उनीहरूको सुझाव छ।

Next Post

हुम्लामा धामीझाँक्रीले स्वास्थ्य सेवातर्फ बिरामी पठाउने ऐतिहासिक प्रतिबद्धता

१ भाद्र २०८२, आईतवार ०९:३१
हुम्ला। गाउँघरमा परम्परागत विश्वास र धार्मिक अभ्यासका कारण बिरामी पहिले धामीझाँक्रीकहाँ जाने चलन अझै जिवित छ। तर अब हुम्लाका विभिन्न देवताका धामीझाँक्रीहरूले बिरामीलाई आफ्नोमा उपचार गर्न ल्याउनु भन्दा पहिले नजिकैको स्वास्थ्य चौकी वा स्वास्थ्य संस्थामा जान सुझाव दिने अठोट गरेका छन्। यसै उद्देश्यका लागि हालै धामीझाँक्री लक्षित अभिमुखीकरण कार्यक्रम आयोजना […]