अपडेट

कर्णालीमा जेनजी आन्दोलनमा ६० संरचना र ४५ सवारी साधनमा तोडफोड तथा आगजनी

  ।   ३१ भाद्र २०८२, मंगलवार २१:२२

 

सुर्खेत। कर्णाली प्रदेशका विभिन्न जिल्लामा जेनजी आन्दोलनका क्रममा भदौ २४ गते व्यापक क्षति भएको छ। आन्दोलनकारीहरूले सरकारी, निजी, पार्टी कार्यालय र संस्थाका गरी ६० संरचना र सरकारी तथा निजी गरी ४५ सवारी साधनमा तोडफोड तथा आगजनी गरेका छन्।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतले गरेको अनुगमनअनुसार सुर्खेत, जुम्ला, कालिकोट, मुगु र डोल्पामा ठूलो क्षति पुगेको छ भने जाजरकोट, हुम्ला, दैलेख, सल्यान र रुकुमपश्चिममा आन्दोलन भएपनि तोडफोड वा आगजनीका घटना नभएको जनाएको छ।

सबैभन्दा बढी क्षति सुर्खेतमा

इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीका अनुसार सुर्खेतमा मात्रै ४४ भौतिक संरचना तोडफोड र आगजनीमा परेका छन्। २८ सरकारी संरचना, ८ निजी सम्पत्ति,५ पार्टी कार्यालय ,३ संघ–संस्थाका कार्यालयमा आगजनि भएको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा कर्णाली प्रदेश सभा, सिटी हल, नगरपालिकाको कार्यालय, नापी कार्यालय, लेखा नियन्त्रक कार्यालय, जिल्ला समन्वय समिति, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, मुख्यान्यायाधिवक्ताको कार्यालय, भेरी–बबई डाइभर्सन आयोजना कार्यालय, वडा कार्यालयहरू, उच्च सरकारी वकिल कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, विद्यालय, पुस्तकालय र रेडक्रस उपशाखा लगायतका संरचनामा तोडफोड गरिएको छ।

त्यस्तै कांग्रेस, एमाले, माओवादी, राप्रपा र जनमोर्चाका पार्टी कार्यालयमा समेत आगजनी गरिएको छ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, मुख्यमन्त्री यामलाल कँडेल, नगर प्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनाल, पूर्व निर्देशक डा। डम्बर खड्का, व्यवसायी विष्णु खड्का लगायतका निजी निवास तथा पेट्रोल पम्पमा समेत क्षति पुगेको छ।
एनआइसी एशिया बैंकको एटिएमसमेत तोडफोड गरिएको छ।

सवारी साधनतर्फ ११ सरकारी गाडी, ८ मोटरसाइकल, २ निजी गाडी र ५ मोटरसाइकलमा क्षति पुगेको छ।

जुम्ला, कालिकोट, मुगु र डोल्पामा पनि तोडफोड

जुम्ला १ सरकारी कार्यालय, ५ पार्टी कार्यालय गरी ६ कार्यालयमा आगजनी, ८ सरकारी गाडी, ११ मोटरसाइकल, साथै एम्बुलेन्स, शववहन र दमकलसमेत तोडफोडमा क्षति पुगेको छ।।

कालिकोट – कांग्रेस, एमाले, माओवादी, रास्वपा, समाजवादी, नेमकिपा र राप्रपाका ७ पार्टी कार्यालयमा तोडफोड तथा आगजनी गरिएको छ।।

मुगु – कांग्रेस र एमालेका पार्टी कार्यालय तोडफोड, छायाँनाथ–रारा नगरपालिकामा राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर जलाइएको घटना।

डोल्पा-त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बगरस्थित कांग्रेस नगर समितिको कार्यालय रहेको घरमा ढुंगामुढा प्रहार गरिएको छ।।

इन्सेकको प्रारम्भिक प्रतिवेदनले जेनजी आन्दोलनले कर्णाली प्रदेशमा व्यापक भौतिक क्षति पुर्‍याएको देखाएको छ। प्रदेश राजधानी सुर्खेत सबैभन्दा बढी प्रभावित बनेको छ भने अन्य जिल्लामा समेत सरकारी तथा पार्टी कार्यालयदेखि निजी निवास र सवारी साधनसम्म आन्दोलनकारीको निशानामा परेका छन्।

Next Post

अविरल वर्षाले गगने खोलामा ठुलो पहिरो, सडकखण्ड पुर्ण अवरुद्ध

३१ भाद्र २०८२, मंगलवार २१:२२
सुर्खेत। जुम्ला सडकखण्ड अन्तर्गत कालिकोटको शुभकालीका गाउँपालिका–१ मा पर्ने गगने खोलामा गएको ठूलो पहिरोका कारण शुक्रबार बिहानैदेखि राजमार्ग पूर्ण अवरुद्ध भएको छ। हिजो रातिदेखि निरन्तर परेको वर्षाले खोलामा बाढी आएर लेदो, ढुङ्गा र माटो बगाउँदै राजमार्गमा थुपारेपछि यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको हो। गगने खोलाको पहिरो हटाउने तयारी भइरहेका […]