अपडेट

नेफ्स्कुन कर्णालीमा कुटपिट विवाद : संचालक भोटे र कर्मचारी दुवै पक्षले लगाए आरोप–प्रत्यारोप

  ।   १९ पुष २०८२, शनिबार १२:१०

सुर्खेत । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) कर्णाली प्रदेश बोर्डका संचालक वीरबहादुर रावत ‘भोटे’माथि कार्यालयमै कुटपिट भएको घटनाले नेफ्स्कुन कर्णालीमा विवाद चर्किएको छ। घटनालाई लिएर संचालक र कर्मचारी दुवै पक्षले आफू पीडित भएको दाबी गरेका छन्।

भिडियो 

घटना शुक्रबार दिउँसोको समयमा नेफ्स्कुनको कार्यालय परिसरभित्र भएको हो। संचालक रावतका अनुसार बोर्ड बैठक बसाल्ने विषयमा छलफल भइरहेका बेला कर्मचारी पक्षबाट योजनाबद्ध रूपमा हातपात गरिएको हो।

रावतले बताएअनुसार नेफ्स्कुनको विधानअनुसार दुई वर्षको अवधिमा कम्तीमा ८ वटा बोर्ड बैठक बस्नुपर्ने व्यवस्था छ। हालसम्म ५ वटा बैठक सम्पन्न भइसकेका छन् भने बाँकी बैठक बसाल्ने तयारी भइरहेको थियो। तर गत वर्षदेखि नै कर्मचारीतर्फबाट पटक–पटक बैठक अवरुद्ध गर्ने प्रयास हुँदै आएको र त्यसको कारण अहिलेसम्म स्पष्ट नभएको उनले बताए।

शुक्रबार बैठकका विषयमा छलफल गर्न कार्यालय पुगेका बेला हेड अफिसबाट “किन बैठक बस्न सकेन रु किन रिपोर्ट नपठाएको रु” भन्ने प्रश्न उठिरहेको अवस्थामा आफूले बैठक बोलाउन खोज्दा कर्मचारीहरूले अवरोध गरेको र त्यसै क्रममा विवाद चर्किएको रावतको भनाइ छ।

उनका अनुसार कर्मचारीहरूले “हामी तपाईंको निर्देशन मान्दैनौँ, हामी सियो बराबरका कर्मचारी होइनौँ” भन्दै अपमानजनक भाषा प्रयोग गरे। त्यसपछि निहुँ खोज्दै कार्यालयमा रहेका न्याम प्लेट टुक्र्याइएको, दराजको सिसा फुटाइएको र प्रहरीलाई खबर गर्न खोज्दा भित्र तथा बाहिर दुबै स्थानमा लात्ती र हातले कुटपिट गरिएको आरोप रावतले लगाएका छन्।

रावतले हातपातमा संलग्न व्यक्ति नेफ्स्कुन फिल्ड कार्यालय इन्चार्ज मदनकुमार चन्द र सायक कर्मचारी पुष्पराज तिमिल्सिना रहेको बताएका छन्। बाहिरबाट सबै च्यानल बन्द गरेर कुटपिट गरिएकोले आफू “धन्न ज्यान जोगाउन सफल भएको” उल्लेख गर्दै उनले दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।

कर्मचारी पक्षको फरक दाबी

उता कर्मचारी पक्षले भने संचालक रावतले आफूलाई पीडित देखाए पनि वास्तविक पीडित कर्मचारीहरू भएको दाबी गरेको छ। कर्मचारीहरूको भनाइअनुसार नेफ्स्कुनको संचालक पदको आडमा रावतले नियमविपरीत ऋण दिन दबाब दिने, नदिँदा कर्मचारीलाई धम्क्याउने र यसअघि पनि पटक–पटक हातपात गर्ने प्रयास गरेको आरोप लगाइएको छ।

कर्मचारी पक्षका अनुसार घटना भएको दिन पनि रावत आक्रोशित अवस्थामा कार्यालयमा प्रवेश गर्दै हातपात गर्न लागेको जानकारी पाएपछि सायक कर्मचारी पुष्पराज तिमिल्सिना डराएको र आत्मरक्षाको अवस्थामा पुगेको बताएका छन्।

त्यस्तै फिल्ड कार्यालय इन्चार्ज मदनकुमार चन्दले घटनाको भिडियो खिचिरहेको थाहा पाएपछि संचालक रावतले घटना उल्टो ढंगले प्रस्तुत गर्दै प्रहरी लगाएर कर्मचारीलाई थुनाएको आरोप समेत कर्मचारी पक्षले लगाएको छ।

कर्मचारीहरूको भनाइमा आफूहरूले योजनाबद्ध रूपमा कुनै कुटपिट नगरेको र संचालकको आक्रामक व्यवहारकै कारण परिस्थिति तनावपूर्ण बनेको हो।

यस घटनाले नेफ्स्कुन कर्णाली प्रदेशभित्रको आन्तरिक व्यवस्थापन, शक्ति दुरुपयोग, कर्मचारी सुरक्षा र संस्थागत सुशासनको विषयमा गम्भीर प्रश्न उठाएको छ। घटनाबारे सत्यतथ्य छानबिन गरी निष्पक्ष ढंगले समाधान खोजिनुपर्ने आवाज दुवै पक्षबाट उठिरहेको छ।

यस अघि प्रकाशन भएको एकलौटी समाचार सुधार गरिएको हो ।

नेफ्स्कुन बोर्ड संचालक भोटेमाथि कार्यालयमै कर्मचारीद्वारा हातपात

Next Post

निर्वाचनको मुखमै प्रचण्ड भारत प्रस्थान, राजनीतिक वृत्तमा चासो

१९ पुष २०८२, शनिबार १२:१०
काठमाडौं। देश निर्वाचनको तयारीमा जुटिरहेका बेला पूर्वप्रधानमन्त्री तथा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणले राजनीतिक वृत्तमा नयाँ बहस जन्माएको छ। आइतबार साँझ नयाँ दिल्ली प्रस्थान गर्न लागेका प्रचण्डको भ्रमणलाई साधारण कार्यक्रमभन्दा बढी अर्थपूर्ण रूपमा हेरिएको छ। नयाँ दिल्लीमा नेपाली समाज भारतले आयोजना गर्ने एकता सन्देश सभा तथा साक्षात्कार […]