अपडेट

अविरल वर्षाले गगने खोलामा ठुलो पहिरो, सडकखण्ड पुर्ण अवरुद्ध

  ।   १ आश्विन २०८२, बुधबार १२:०५

सुर्खेत। जुम्ला सडकखण्ड अन्तर्गत कालिकोटको शुभकालीका गाउँपालिका–१ मा पर्ने गगने खोलामा गएको ठूलो पहिरोका कारण शुक्रबार बिहानैदेखि राजमार्ग पूर्ण अवरुद्ध भएको छ। हिजो रातिदेखि निरन्तर परेको वर्षाले खोलामा बाढी आएर लेदो, ढुङ्गा र माटो बगाउँदै राजमार्गमा थुपारेपछि यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको हो। गगने खोलाको पहिरो हटाउने तयारी भइरहेका बेला आज बिहानै सडकखण्डको अर्को भागमा पनि ठूलो पहिरो खस्दा समस्या झन् गम्भीर बनेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। जिल्ला प्रहरी प्रमुख दीपेन्द्र चौधरीका अनुसार, “निरन्तर वर्षा भइरहेकाले मेशिन र जनशक्ति परिचालन गर्न मुस्किल भइरहेको छ। बाटो खुलाउन कम्तीमा दुई घण्टा लाग्ने देखिन्छ, तर पानी रोकिए मात्र प्रभावकारी काम गर्न सकिन्छ।”

सडक अवरुद्ध हुँदा सुर्खेत, जुम्ला, मुगु र हुम्ला जाने सयौं यात्रु बीच बाटोमै अलपत्र परेका छन्। लामो दूरीको बसदेखि एम्बुलेन्ससम्म रोकिएका छन्। यात्रुमध्ये कोही बालबालिका बोकेर हिँडिरहेका छन् भने बिरामी बोकेर अस्पताल जान खोजेकाहरूलाई थप समस्या भएको छ। स्थानीय बसमा जुम्ला जाँदै गरेका राजेन्द्र शाहीले भने, “हामी रातिदेखि यहाँ रोकिएका छौं। खाना–पानीको समस्या सुरु भएको छ। कहिले बाटो खुल्छ भन्ने अनिश्चितताले झन् तनाव बढाएको छ।” सडक रोकिनु व्यापारी र किसानका लागि अझ ठूलो धक्का बनेको छ। सुर्खेत र जुम्लाबाट जुम्ला, मुगु, हुम्लातर्फ तरकारी, फलफूल र खाद्यान्न बोकेका ट्रकहरू बाटैमा रोकिएका छन्। लामो समय बाटो नखुल्दा चाँडै बिग्रने वस्तु नष्ट हुने जोखिम बढेको व्यापारीहरुले बताएका छन्।

कालीकोटका एक व्यवसायीले भने, “हामीसँग करिब २० लाख बराबरको फलफूल ट्रकमा छ। यदि दुई–तीन दिनभित्र बाटो खुलेन भने सबै बिग्रन्छ, ठूलो घाटा बेहोर्नुपर्छ।” जिल्ला प्रशासन कार्यालयले यात्रुलाई अत्यावश्यक भए बाहेक यात्रा नगर्न आग्रह गरेको छ। निरन्तर वर्षाले अन्य स्थानमा समेत पहिरो खस्न सक्ने भएकाले रात्री यात्रामा विशेष सतर्कता अपनाउन चेतावनी दिइएको छ।

सुर्खेत–जुम्ला सडकखण्ड बर्षातमा पटक–पटक अवरुद्ध हुने गरेको छ। यसअघि पनि हरेक मनसुनमा दर्जनौं दिनसम्म बाटो बन्द हुने समस्या देखिँदै आएको छ। स्थानीयवासीले स्थायी समाधानका लागि सरकारले दिगो व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

Next Post

बुधबार बिहानदेखि अवरुद्ध सडकखण्ड सञ्चालनमा

१ आश्विन २०८२, बुधबार १२:०५
कालिकोट। अविरल वर्षाका कारण बुधबार बिहानदेखि पूर्ण रूपमा अवरुद्ध बनेको सुर्खेत–जुम्ला सडकखण्ड दिउँसो सञ्चालनमा आएको छ। कालिकोटको शुभकालीका गाउँपालिका–१ मा पर्ने गगने खोलामा गएको ठूलो पहिरोका कारण राजमार्ग अवरुद्ध बनेको थियो। हिजो रातिदेखि लगातार परेको वर्षाले खोलामा बाढी आउँदा लेदो, ढुङ्गा र माटो राजमार्गमा थुप्रिँदा यातायात पूर्ण रूपमा ठप्प भएको […]