जुम्ला । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको केही दिन अगाडि आमसभा कार्यक्रममा प्रतिनिधि सभा सदस्य सांसाद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले विवादास्पद तथा भ्रामक अभिव्यक्ति दिएको भन्दै नेकपा माओवादी केन्द्र जुम्लाले खुलासा गरेको हो ।
आज जुम्ला सदरमुकाममा पत्रकार भेटघाट कार्यक्रम गरेर शाहीको अभिव्यक्तिप्रति माओवादी केन्द्र जुम्लाले आपत्ति जनाएको हो । शाहीले दिएको अभिव्यक्ति लगत्तै नेकपा माओवादी केन्द्र जुम्ला इन्चार्ज नरेश भण्डारीले सामाजिक सञ्जाल मार्फत शाहीले दिएको अभिव्यक्तिको उत्तर प्रष्ट रुपमा दिएका थिए ।
पत्रकार भेटघाट कार्यक्रममा भण्डारीले भने सिञ्जा सभ्यता विधेयक हामीले अगाडि बढाएका हौं । सांसद ज्ञानबहादुरले झुठो प्रचार गर्नुभयो । सांसदले दर्ता गर्ने प्रावधान अनुरुप विधेयक दर्ता गर्नुभन्दा एकदिन अगाडि मैले सिञ्जा सभ्यता विधेयक सम्बन्धि सरकारवालाहरुलाई इमेल तथा केहीलाई मेसेन्जर मार्फत् विधेयकको ड्राफ पठाएको थिएँ ।
सरकारवालाहरुलाई पठाउने क्रममा ज्ञानबहादुर शाही त्यतिबेला अभियान्ता हुनुहुन्थ्यो । उहाँ सिञ्जाकै भएको कारणले पनि मैले सुझावको लागि विधेयक पठाएको थिएँ । तर उहाँले सुझाव दिनुभएन । बरु धन्यवाद बाहेक केही भन्नुभएनु। त्यसपछि प्रदेश सभामा टेबल पनि भयो टेबल मैले नै गरेको हो ।
त्यस्तै पत्रकार भेटघाटको क्रममा नेकपा माओवादी केन्द्र जुम्ला जिल्ला संयोजक नवराज न्यौपानेद्वारा ज्ञानेन्द्र शाही सचेत हुनुपर्ने भन्दै विज्ञप्ति जारी भएको थियो ।