मध्यपश्चिम विश्वविद्यालयमा रजिस्ट्रार छनोट प्रक्रिया पारदर्शीतामा शंका

  ।   १३ कार्तिक २०८१, मंगलवार १७:३८

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रार छनोट प्रक्रिया सुरू भए पनि त्यसको पारदर्शीतामा शंका उत्पन्न भएको छ । मंगलबारदेखि सुरू हुने छनोट प्रक्रियाको लागि निर्माण गरिएको कार्यविधि सार्वजनिक नगरी गुपचुप राखिएको छ ।

विश्वविद्यालयले पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. यादव कोइरालाको संयोजकत्वमा ३ सदस्यीय छनोट समिति बनाएको छ । समितिले आवेदन दिएका १४ जनामध्ये ३ जनाको नाम उपकुलपतिलाई दिनेछ ।

विश्वविद्यालय ऐन अनुसार उपकुलपतिले नाम कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिफारिस गर्नेछ । कुलपतिले तीमध्ये एक जनालाई रजिस्ट्रार नियुक्त गर्नेछन् । हामीले माग गरेको कार्यविधि छनोट समितिले तत्काल उपलब्ध गराउन असमर्थता जनाएको छ ।

विश्वविद्यालयका कुलपति प्रा।डा। ध्रुवराज गौतमले छनोट समितिले नै रजिस्ट्रार छनोटको कार्यविधि वा मापदण्ड बनाएको बताए ।

समितिले कुलपतिसँग समन्वय गरेर कार्यविधि बनाएको र सार्वजनिक गर्न नमिल्ने उनले बताए ।

‘रजिस्ट्रार नियुक्ति कुलपतिले गर्ने भएको हुँदा कुलपतिसँगै समन्वय गरेर छनोट समितिले यसका लागि आवश्यक कार्यविधि बनाएको हुन्छ,’ उनले भने, ‘तर यसलाई सार्वजनिक भने गर्न मिल्दैन ।’

विश्वविद्यालयले ‘मेरिटोक्रेसी’ ९उत्कृष्टता० को आधारमा रजिस्ट्रार नियुक्त गर्ने भन्दै गत भदौ ३० गते आवेदन आह्वान गरेको थियो । यसमा सहप्राध्यापक र प्राध्यापक गरी १४ जनाले आवेदन दिएका छन् ।

विश्वविद्यालयले कार्यविधि गुपचुप राख्दा निष्पक्षतामा प्रश्न उठेको रजिस्ट्रारका लागि आवेदन दिएका एक जना प्रतिस्पर्धीले बताए ।

कार्यविधिमा छनोटको लागि निश्चित मापदण्ड र आधार तय भएको हुने र त्यसबारे जानकारी नहुँदा अन्योलता भएको उनको भनाइ छ ।

‘हामी प्रतिस्पर्धीलाई नै कुनमा कति नम्बर राखिएको छ भन्ने थाहा छैन, मापदण्ड माग्दा पनि दिइएको छैन,’ ती आवेदकले भने, ‘यसले गर्दा मेरिटोक्रेसीको कुरा हात्तीको देखाउने दाँत मात्र हुनेजस्तो देखिएको छ ।’

रजिस्ट्रारको लागि एमयूका शिक्षा शास्त्र संकायका डिन यामबहादुर कार्की, पाठ्यक्रम निर्देशनालयका निर्देशक वीरबहादुर पौडेल, पूर्वपरीक्षा व्यवस्थापन प्रमुख आनन्दप्रसाद सुवेदी, व्यवस्थापन संकायका पूर्वसहायक डिन अमृतकुमार गैरे, स्कुल अफ ल कार्यक्रमका पूर्वसंयोजक अर्जुनबहादुर अयडी, विज्ञान तथा प्रविधि संकायका पूर्वडिन देवबहादुर खड्का, शिक्षाशास्त्र संकायका पूर्वडिन लालमणि आचार्य लगायतले आवेदन दिएका छन् ।

उनीहरूको मंगलबार र बुधबार ‘भिजन प्लान’ प्रस्तुतीकरण हुँदैछ । (युग आह्वान राष्ट्रिय दैनिक अनलाईनबाट साभार)

Next Post

दैलेखमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ को काम

१३ कार्तिक २०८१, मंगलवार १७:३८
सुर्खेत। दैलेखमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ को काम भइरहेको छ । अहिले तोकिएकै समयमा काम सम्पन्न गर्नेगरी काम अघि बढाइएको हो । अन्तिम चरणको अन्वेषणको कामका लागि एक वर्ष म्याद थप गरिएको छ । नेपाल सरकार खानी तथा भूगर्व विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्भे कम्पनीबिच अन्तिम […]