खर्च विवरण समयमै पेस भइसकेको जिल्ला निर्वाचन कार्यालय
रतन रावल ,
मुगु । नेपाल सरकारका तत्कालीन वन तथा वातावरण मन्त्री तथा नेपाली कांग्रेस मुगुका सभापति ऐनबहादुर शाही ठकुरी आगामी निर्वाचनमा उम्मेदवार बन्न पाउने भएका छन्। शाहीले निर्वाचन खर्च विवरण समयमै पेस गरिसकेको भन्दै जिल्ला निर्वाचन कार्यालय मुगुले स्पष्ट पारेको छ।
हालै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा कर्णाली प्रदेशका केही उम्मेदवारहरूले निर्वाचन खर्च विवरण नबुझाएकाले उनीहरू आगामी निर्वाचनमा उम्मेदवार हुन नपाउने दाबी सहित समाचार तथा पोस्टहरू सार्वजनिक भएका थिए। ती समाचारमा विशेषगरी मुुगु जिल्लाका नेपाली कांग्रेसका ऐनबहादुर शाही र स्वतन्त्र उम्मेदवार कृष्णबहादुर सेजुवालको नाम किटान गरिएको थियो।
यस विषयमा स्पष्ट पार्दै जिल्ला निर्वाचन कार्यालय मुगुका सूचना अधिकारी धनकृष्ण बढुवालले तत्कालीन संघीय सांसद ऐनबहादुर शाहीले २०८० साल साउन १४ गते नै निर्वाचन खर्च विवरण कार्यालयमा पेस गरिसकेको जानकारी दिनुभयो। उहाँका अनुसार शाही आगामी निर्वाचनमा कुनै बाधा बिना स्वतःस्फूर्त रूपमा सहभागिता जनाउन योग्य हुनुहुन्छ।
तर, सूचना अधिकारी बढुवालका अनुसार स्वतन्त्र उम्मेदवार कृष्णबहादुर सेजुवाल भने खर्च विवरण नबुझाएकाले अयोग्य ठहरिएका छन्।
जिल्ला निर्वाचन कार्यालय मुगुले सामाजिक सञ्जाल तथा केही अनलाइन माध्यममा प्रकाशित समाचारहरू भ्रामक र तथ्यहीन रहेको पनि स्पष्ट पारेको छ।
यसैबीच, केही सञ्चारमाध्यममा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेकपा एमालेका सचिव शेरधन राई र एमाले सचिव डा। राजन भट्टराईले पनि निर्वाचन खर्च विवरण नबुझाएकाले आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने भनी समाचार प्रकाशित भए तापनि, ती समाचारहरूको आधिकारिक पुष्टि भइनसकेको निर्वाचन कार्यालयहरूको भनाइ छ।
जिल्ला निर्वाचन कार्यालय मुगुले निर्वाचनसम्बन्धी यस्ता संवेदनशील विषयमा आधिकारिक निकायको पुष्टि बिना समाचार प्रकाशन नगर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रहसमेत गरेको छ।








