अपडेट

इटहरीका युवाको रहस्यमय मृत्यु प्रहरी कुटपिटको आरोप, निष्पक्ष छानबिनको माग

  ।   १२ श्रावण २०८२, सोमबार १५:१४

सुर्खेत ।  सुनसरीको इटहरी उपमहानगरपालिका–२ का २० वर्षीय युवराज निरौलाको प्रहरी कुटपिटबाट मृत्यु भएको भन्दै परिवारले प्रहरीमाथि गम्भीर आरोप लगाएका छन्। धरानस्थित तीनकुने प्रहरी चौकीमा चेकजाँचको क्रममा कुटपिटपछि उपचारका लागि कोशी अस्पताल, विराटनगर लगिएकोमा सोमबार राति उनको मृत्यु भएको हो।

साउन ९ गते बेलुकी करिब ८ बजे युवराज निरौला र उनका साथी दीपक कटुवाल २२, बेलुका नगरपालिका–३, उदयपुरका बासिन्दा, धरान जाँदै गर्दा चेकजाँचका लागि रोकिन पुगेका थिए। प्रहरीले लागू औषध सेवनको आशंकामा दुवैलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।

मृतकका भाइ सन्तोष निरौलाका अनुसार सोधपुछकै क्रममा प्रहरीले युवराजमाथि निर्घात कुटपिट गरेका थिए। “छाती र टाउकोमा बुटले हानेर मार्ने गरि कुटपिट गरियो,” उनले गम्भीर आरोप लगाए।

 

घाइते अवस्थामा रहेका निरौलालाई तत्काल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो, तर अवस्था गम्भीर भएपछि विराटनगरस्थित कोशी अस्पतालमा रिफर गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।

यस विषयमा इलाका प्रहरी कार्यालय धरानले औपचारिक प्रतिक्रिया दिएको छैन। यद्यपि, आन्तरिक अनुसन्धान प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ।

प्रहरीको कुटपिटबाट युवाको मृत्यु भएको आरोपसँगै स्थानीयवासी र मानवअधिकारकर्मीहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।

Next Post

कर्णालीमा ६९३ पत्रकारका लागि निःशुल्क स्वास्थ्य बीमा

१२ श्रावण २०८२, सोमबार १५:१४
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशभर सक्रिय पत्रकारहरूको स्वास्थ्य सुरक्षाका लागि ऐतिहासिक कदम चालेको छ। नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको सहकार्यमा, प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत ६९३ जना पत्रकारका लागि पूर्ण रूपमा निःशुल्क स्वास्थ्य बीमा सुरु गरिएको हो। यस योजनाअन्तर्गत राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता भएको छ। […]