पश्चिमको भू–भागमा ८ म्याग्नेच्युटभन्दा माथिको ठुलो भूकम्प जान सक्ने- सतर्क रहन आग्रह

  ।   ७ पुष २०८१, आईतवार ०९:००

सुर्खेत । शनिबार बिहानै  बाजुराको जगन्नाथ गाउँपालिका–५ को गोत्री केन्द्रबिन्दु भएर ५.२ म्याग्नेच्युटको भूकम्प गयो । त्यसको परकम्प आउने क्रम जारी रहेको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेत शाखाका भूकम्पविद् चिन्तन तिमिल्सिनाले जानकारी दिनुभयो । परकम्पका रूपमा अझै ४ म्याग्नेच्युटको भूकम्प जाने सम्भावना रहेको उनले बताउनुभयो। अहिलेसम्म १ देखि ३ म्याग्नेच्युटसम्मको करिब छ वटा जति परकम्प गइसकेको छ ।

नेपालको गोरखादेखि पश्चिमको भू–भागमा ८ म्याग्नेच्युटभन्दा माथिको ठुलो भूकम्प जान सक्ने शक्ति थुप्रिएको छ । तर पूर्वसतर्कता कमजोर हुँदा जनधनको जोखिम बढ्दै गएको भूकम्पविद्हरूले औँल्याएका छन । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ म्याग्नेच्युटको ठुलो भूकम्प गएपछि मध्य क्षेत्रमा शक्ति केही मत्थर अवस्थामा छ । नेपालको पूर्वतर्फ पनि ठुलो भूकम्पको खतरा उत्तिकै छ । पूर्वभन्दा बढी उच्च जोखिममा रहेको पश्चिमी भू–भागमा विगत केही वर्षयता साना तथा मझौला भूकम्पले निरन्तर धक्का दिइरहेको छ । गत वर्ष जाजरकोटमा गएको ६.४ म्याग्नेच्युटको मझौला भूकम्पले ठुलो जनधनको क्षति गरायो । त्यसअघि र पछि पनि बझाङ, बाजुरा, डोटीलगायतका स्थानमा बारम्बार भूकम्प जाने र जनधनको क्षति गराउने गरिरहेको छ ।

बाजुरामा २०७९ साल माघ १० गते बिछ्या केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्युटको भूकम्प गएको थियो । त्यस भूकम्पको ४ म्याग्नेच्युटमाथिका सात वटा परकम्प गएका थिए । त्यसपछि २०८० साल वैशाख १४ गते ५.९ म्याग्नेच्युटको भूकम्प गएको थियो । त्यसको ४ म्याग्नेच्युटमाथिका नौ वटा परकम्प भएका थिए । शनिबार भने कालीकोट–बाजुरा सिमानाको गोत्री केन्द्रबिन्दु हो । मानव बस्तीदेखि टाढा देउरा हिमालको काखमा रहेको लेकमा केन्द्रबिन्दु परेकाले पनि पहिलेको तुलनामा क्षति कम भएको तिमिल्सिनाले जानकारी दिए । वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार भूकम्पको पूर्वानुमान गर्न नसकिने भएकाले कहिले जान्छ थाहा हुन्न । अधिकारीले भने, “अनि भूकम्प एउटै गतिमा जान्छ भन्ने पनि हुन्न, पश्चिम नेपाल भूकम्पका दृष्टिले सक्रिय ठाउँ भएकाले पूर्व सतर्कता अपनाउनुको विकल्प छैन ।

पश्चिम नेपालको भूगोलमुनि ठुलो भूकम्पीय शक्ति जम्मा भएको पाँच सय वर्ष बितिसकेकाले जतिखेर पनि जान सक्ने दाबी उनले गरे । भूकम्प गएपछि हारगुहार गर्ने र पूर्वतयारीमा ध्यान नदिने प्रवृत्तिले भविष्यमा ठुलो क्षति बेहोर्नुपर्ने दिन आउन सक्ने चेतावनी उनको छ । वरिष्ठ भूकम्पविद् भरत कोइरालाका अनुसार चार दिनयता पश्चिम नेपालमा लगातारजसो भूकम्प गइरहेको छ । पुस २ गते बझाङमा ४.३ म्याग्नेच्युटको भूकम्प गयो । भोलिपल्ट पुस ३ गते त्यसको परकम्पका रूपमा बझाङमै ४.१ म्याग्नेच्युटको भूकम्प गयो ।

पुस ४ गते मनाङमा ४७ म्याग्नेच्युटको अर्को भूकम्प गयो । त्यसपछि शनिबार पुस ६ गते बझाङमा भूकम्प गएको हो । सुदूरपश्चिम र कर्णालीका नजिक नजिकका क्षेत्रमा भूकम्प गइरहेकाले सतर्क रहन भूकम्पविद् कोइरालाले आग्रह गर्नुभयो। त्यसअघि गत महिना मङ्सिर ६ गते मनाङ र कास्की सिमाना केन्द्र भएर ४.२ म्याग्नेच्युटको भूकम्प गएको थियो । अझ अगाडि दोलखा, बैतडी, बझाङ, दैलेखलगायतका स्थानमा सोही आसपासमा भूकम्प गएका थिए ।

ठुलो भूकम्प जानुपर्ने ठाउँमा अहिले गइरहेको जस्तो साना भूकम्पले जमिनमुनिको पूरै शक्ति निःसृत हुँदैन । किनभने ८ म्याग्नेच्युटबराबरको भूकम्पको शक्ति निस्कन ६ म्याग्नेच्युटको ६ हजार वटा भूकम्प जानुपर्ने हुन्छ । आमनागरिक र सरकारी निकाय सचेत रहेर पूर्वतयारीका विकल्पहरू खोज्न ढिला गर्न नहुने उनले सुझाउनुभयो । उहाँले भन्नुभयो, “पहाडी इलाकामा बनेका माटो र ढुङ्गाको जडान भएका घरहरूको भर हुन्न, त्यसैले भूकम्प गइरहने क्षेत्रका बासिन्दाले बलियो बासको व्यवस्थामा ध्यान दिनु पर्छ ।

Next Post

जुम्लामा स्तनपान र बालमैत्री कक्ष स्थापना

७ पुष २०८१, आईतवार ०९:००
जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले स्तनपान र बालमैत्री कक्ष स्थापना गरेको छ । प्रहरी कार्यालयमा सेवा लिन आउने महिला र बालबालिकाका लागि जिल्ला प्रहरी कार्यालय जुम्लाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र महिला सेलमा स्तनपान र बालमैत्री कक्ष स्थापना गरको हो । स्तनपान कक्षको चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवी […]