अपडेट

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह प्रधानमन्त्री ओलीले भोली उद्घाटन गर्ने

  ।   २७ कार्तिक २०८१, मंगलवार १९:३२

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित हुने भएका छन् ।

दीक्षान्त कार्यक्रम कात्तिक २८ गते हुने भएको छ । यसअघि गत भदौ २३ गते तय गरिएको थियो । दीक्षान्त समारोह कार्यक्रम तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ । दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा अञ्जनीकुमार झा, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेङ्गर पनि समारोहमा सहभागी हुने कार्यक्रम छ ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा डबलबहादुर धामीले भन्नुभयो– ‘स्नातकतर्फ बिपीएचमा ३८, एमबिबिएस १३ र स्नातकोत्तरतर्फ एमडिजीपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ विद्यार्थी दीक्षित हुन योग्य छन् ।’

प्रधानमन्त्री ओलीले दीक्षान्त समारोहमा भाग लिएपछि प्रतिष्ठानको शैक्षिक भवनको उद्घाटनसमेत गर्नुहुने कार्यक्रम रहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरिरहेको प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिनुभयो ।

दीक्षान्त समारोहपछिको सिनेट बैठकमा प्रतिष्ठानका भावी योजना र गतिविधिबारे थप छलफल हुने जनाइएको छ ।

Next Post

देउति बज्यै मन्दिरका पुजारी मृत फेला

२७ कार्तिक २०८१, मंगलवार १९:३२
सुर्खेत । सुर्खेतको चर्चित धार्मिक शक्ति पिठ देउती बज्यै मन्दिरका पुजारीको शव शंकास्पद अवस्थामा भेटिएको छ । मुख्य मन्दिरकाे पूर्वी ढाेकामा मृत अवस्थामा पुजारी ५१ वर्षीय सरस्वती राजीको शव आज विहान फेला परेको हो । मृत अवस्थामा मान्छे रहेको खवर थाहा हुने वित्तिकै प्रहरीले घटनास्थलमा पुुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी […]