नगर प्रमुख शाही नगर प्रहरी सहित दुर्घटनास्थ, खोजीकार्य तीव्र

  ।   २१ असार २०८३, आईतवार ०९:४३

कालिकोट । असार १८ गते भएको दुःखद सवारी दुर्घटनापछि खोजी तथा उद्धार कार्य निरन्तर जारी रहेको छ।

सुर्खेतबाट रास्कोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेख जिल्लाअन्तर्गत कर्णाली राजमार्गको पाल्तडा–साङ्गेतडा क्षेत्रमा कर्णाली नदीमा खस्दा बेपत्ता भएको घटनापछि नेपाल प्रहरी, स्थानीय प्रशासन, उद्धार टोली, यातायात व्यवसायी, नगर प्रहरी तथा बेपत्ता नागरिकका आफन्तहरूको निरन्तर समन्वय र सक्रियतामा खोजीकार्य भइरहेको छ।

रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही (पोषण) समेत घटनास्थलमा पुगेर उद्धार तथा खोजीकार्यको प्रत्यक्ष अनुगमन गर्दै सम्बन्धित निकायसँग समन्वय गरिरहनुभएको छ। उहाँले घटनास्थलको वास्तविक अवस्थाबारे जानकारी लिँदै उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक पहल भइरहेको बताउनुभएको छ।

हालसम्म प्राप्त आधिकारिक सूचना अनुसार सम्पर्कविहीन तथा बेपत्ता नागरिकहरूको विवरण यसप्रकार रहेको छः सृजना खड्का – रास्कोट नगरपालिका–२, कालिकोट जोखे तिरुवा – पचालझरना गाउँपालिका–९, कालिकोट (मृतक), मेखे तिरुवा – पचालझरना गाउँपालिका–९, कालिकोट, रामु सुवेदी – पंचपुरी नगरपालिका–८, सुर्खेत, तुलाराम सुवेदी – पंचपुरी नगरपालिका–८, सुर्खेत (चालक)

उद्धार टोलीले नदी क्षेत्रमा निरन्तर खोजीकार्य सञ्चालन गरिरहेको छ। सम्बन्धित निकायहरूले आधिकारिक सूचना बाहेक अन्य अपुष्ट जानकारीमा विश्वास नगर्न तथा धैर्यका साथ सहयोग गर्न सबैमा अनुरोध गरेका छन्।

दुर्घटनामा ज्यान गुमाउनु भएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं। साथै बेपत्ता नागरिकहरूको सकुशल खोजी तथा उद्धार सफल होस् भन्ने कामना नगर प्रमुख शाहीको छ ।

सम्बन्धित शीर्षक