सुर्खेत। गर्मी मौसम सुरु भएपछि तल्लो क्षेत्रमा पालन हुँदै आएका चौँरी गाईलाई उच्च पाटनतर्फ लग्न सुरु गरिएको छ । उच्च पाटनमा घाँस उम्रिनु र गर्मी बढेसँगै पालनका लागि चौँरी गाईलाई उच्च पाटनतर्फ लग्न सुरु गरिएको हो ।
नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका हल्जी गाउँका देटाक तामाङका अनुसार वैशाख अन्तिमबाट लिमीका गाउँमा पालन हुँदै आएका चौँरी गाई उच्च पाटनमा लग्न सुरु गरिएको हो ।
उच्च पाटनमा हिउँ पग्लेर घाँस देखिन थालेपछि पालनकै लागि चौँरी गाई पाटन तिर लग्न थालिएको हो। गत वर्षभन्दा एक महिना अगाडि चौँरीलाई उच्च पाटन लग्ने कार्य भएको हो। गत वर्ष हिउँदमा हिमपात धेरै भएका कारण जेठ दोस्रो हप्तामा मात्र चौँरी गाईलाई लिमीको गाउँबाट उच्च पाटन लगिएको थियो ।
लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले चौँरीलाई उच्च क्षेत्रमा लग्न सुरु गरिएको र यतिबेला उच्च पाटनमा लगिएका चौँरी गाई आगामी कात्तिक महिनामा मात्र गाउँमा फिर्ता हुने बताए। यो बिचमा चौँरी खर्कमा घ्यु, छुर्पी, चीज उत्पादन हुनेछ । हाल लिमीका तीन गाउँ तिल, हल्जी र जाङ गरी तीन सयभन्दा बढी चौँरी रहेका छन् ।