सेनाको पहलमा मान्म बजारको अवरुद्ध सडकमा पैदल बाटो खुल्यो

  ।   २९ भाद्र २०८३, सोमबार १५:४३

सेनाको पहलमा मान्म बजारको अवरुद्ध सडकमा पैदल बाटो खुल्यो , पूर्ण निर्माण कहिले हुने अझै टुंगो छैन

कालीकोट । लामो समयदेखि भत्किएर अवरुद्ध बनेको खाँडाचक्र नगरपालिका–मान्म बजार प्रवेश गर्ने मुख्य सडक हिजोदेखि सामान्य पैदल हिँडडुल गर्न सकिने अवस्थामा पुगेको छ। नेपाली सेना, नेपाल प्रहरी, अन्य सुरक्षाकर्मी तथा स्थानीयवासीको संयुक्त प्रयासमा सडकमा थुप्रिएको माटो, ढुंगा तथा अन्य अवरोध हटाएपछि पैदल यात्रुका लागि बाटो खुलेको हो।

खाँडाचक्र नगरपालिकाले प्रशासकीय भवन निर्माणका क्रममा जग खन्ने क्रममा भत्किएको उक्त सडक लामो समयदेखि अवरुद्ध थियो। सडक अवरुद्ध हुँदा मान्म बजार आवतजावत गर्ने स्थानीयवासी, व्यापारी, कर्मचारी तथा सर्वसाधारणलाई दैनिक आवतजावतमा समस्या हुँदै आएको थियो।

देवीदत्त बक्स गुल्म, कालीकोटको पहलमा सुरक्षाकर्मी र स्थानीयवासीको सहभागितामा अवरोध हटाएर बाटो सम्याउने काम गरेपछि अहिले पैदल यात्रु हिँड्न सक्ने अवस्था बनेको हो। यससँगै लामो समयदेखि पैदल आवतजावतमा समेत समस्या भोग्दै आएका सर्वसाधारणलाई तत्कालका लागि केही राहत पुगेको छ।

यद्यपि, अहिले पैदल हिँडडुल गर्न मिल्ने बनाइएको सडकलाई पूर्ण तथा स्थायी निर्माण भने मान्न सकिने अवस्था छैन। सडकलाई सुरक्षित र व्यवस्थित रूपमा पूर्ण निर्माण गरी नियमित आवतजावत सञ्चालन गर्न अझै थप काम आवश्यक रहेको छ।

कालिकोट  प्रमुख जिल्ला अधिकारीका अनुसार अहिलेको काम तत्कालका लागि सर्वसाधारणलाई पैदल हिँडडुल गर्न सक्ने अवस्था सिर्जना गर्ने उद्देश्यमा केन्द्रित थियो। तर सडकको पूर्ण निर्माण कहिले सम्पन्न हुन्छ भन्ने विषयमा भने अहिलेसम्म ठोस योजना र समयसीमा तय भइसकेको छैन।

लामो समयदेखि मुख्य सडक अवरुद्ध हुँदा मान्म बजारको दैनिक गतिविधिसमेत प्रभावित हुँदै आएको थियो। विशेषगरी बजार क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणले सडकको अवस्थाका कारण सास्ती खेप्दै आएका थिए।

स्थानीयवासीले तत्कालका लागि पैदल बाटो सञ्चालनमा आउनु सकारात्मक भए पनि यसलाई स्थायी समाधानका रूपमा लिन नसकिने बताएका छन्। उनीहरूले सडकको प्राविधिक अध्ययन गरी आवश्यक संरचना निर्माणसहित पूर्ण सडक निर्माणको स्पष्ट योजना र समयसीमा तोकेर काम अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

मान्म बजार प्रवेश गर्ने प्रमुख सडक भएकाले अस्थायी रूपमा पैदल आवतजावत सहज बनाउने कामसँगै यसको दीर्घकालीन समाधान खोज्नुपर्ने स्थानीयको जोड छ। पैदल बाटो खुले पनि सवारीसाधनसहित नियमित आवतजावतका लागि सडक कहिले पूर्ण रूपमा निर्माण हुन्छ भन्ने अझै टुंगो लाग्न सकेको छैन।

Next Post

ग्यास बिक्रीमा क्यूआरमार्फत भुक्तानी लिन आयल निगमको निर्देशन

२९ भाद्र २०८३, सोमबार १५:४३
सुर्खेत । नेपाल आयल निगमले कर्णाली प्रदेशमा एलपी ग्यास बिक्री–वितरण गर्ने आधिकारिक विक्रेताहरूलाई उपभोक्ताबाट क्यूआरमार्फत भुक्तानी लिन निर्देशन दिएको छ। निगमको कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतले सूचना जारी गर्दै ग्यास खरिद गर्दा उपभोक्ताबाट क्यूआरमार्फत भुक्तानी नलिएको तथा नगद रकम मात्र लिएको सम्बन्धमा गुनासो प्राप्त भएको जनाएको छ। उपभोक्ताबाट प्राप्त गुनासोपछि कार्यालयले […]