सुर्खेत । नेपाल आयल निगमले कर्णाली प्रदेशमा एलपी ग्यास बिक्री–वितरण गर्ने आधिकारिक विक्रेताहरूलाई उपभोक्ताबाट क्यूआरमार्फत भुक्तानी लिन निर्देशन दिएको छ।
निगमको कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतले सूचना जारी गर्दै ग्यास खरिद गर्दा उपभोक्ताबाट क्यूआरमार्फत भुक्तानी नलिएको तथा नगद रकम मात्र लिएको सम्बन्धमा गुनासो प्राप्त भएको जनाएको छ। उपभोक्ताबाट प्राप्त गुनासोपछि कार्यालयले कर्णाली प्रदेशअन्तर्गतका सम्पूर्ण एलपी ग्यासका आधिकारिक विक्रेतालाई ग्यास बिक्री गर्दा क्यूआरमार्फत भुक्तानी स्वीकार गर्न निर्देशन दिएको हो।
कार्यालयले ग्यास बिक्री गर्दा उपभोक्ताबाट क्यूआरमार्फत भुक्तानी लिन अस्वीकार नगर्न र भुक्तानीका क्रममा उपभोक्तालाई अनावश्यक असहजता नपार्न समेत विक्रेताहरूलाई आग्रह गरेको छ।
निगमका अनुसार क्यूआरमार्फत भुक्तानी गर्ने व्यवस्था उपभोक्तालाई सहज र सरल रूपमा सेवा उपलब्ध गराउनुका साथै कारोबारमा पारदर्शिता कायम गर्न महत्वपूर्ण हुनेछ। नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले समेत क्यूआर भुक्तानीलाई प्रभावकारी बनाउन खोजिएको हो।
क्यूआरमार्फत भुक्तानी गर्दा कारोबारको अभिलेख रहने भएकाले ग्यास बिक्री–वितरणमा हुने आर्थिक कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। तर, क्यूआर भुक्तानीको व्यवस्था कार्यान्वयनसँगै ग्यास वितरणका क्रममा देखिने अन्य समस्या समाधानतर्फ समेत सम्बन्धित निकायले ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।
निगमले कर्णाली प्रदेशअन्तर्गतका सबै आधिकारिक ग्यास विक्रेतालाई आफ्नो निर्देशनअनुसार क्यूआरमार्फत भुक्तानीको व्यवस्था अनिवार्य रूपमा कार्यान्वयन गरी उपभोक्तालाई सहज सेवा उपलब्ध गराउन आग्रह गरेको छ।






