सुर्खेत।कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। नेपालली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाही ले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदमा आफ्नो दाबी पेश गरेका छन्।
शाहीले नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल को समर्थनमा संविधानको धारा १६८ (२ ) बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। दाबीसँगै प्रदेशसभाका २४ जना सांसदको हस्ताक्षरसहितको समर्थनपत्र प्रदेश प्रमुखसमक्ष बुझाइएको छ।
मुख्यमन्त्रीका दाबेदार शाहीलाई नेकपा १४ जना र नेकपा एमालेका १० जना प्रदेशसभा सदस्यले समर्थन गरेका छन्। दुई दलको संयुक्त समर्थनपछि प्रदेशसभामा बहुमत सुनिश्चित भएको दाबी गरिएको छ।
यसअघि मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुखले संविधानको व्यवस्था अनुसार नयाँ सरकार गठनका लागि बहुमतको आधार प्रस्तुत गर्न राजनीतिक दलहरूलाई आह्वान गरेका थिए। सोही आह्वानअनुसार केन्द्रमा भएको राजनीतिक सहमतिको प्रभाव कर्णालीमा पनि देखिएको हो।
राजनीतिक सहमतिअनुसार मुख्यमन्त्रीको जिम्मेवारी नेकपाले पाउने र एमाले सरकारमा साझेदार बन्ने सहमति कार्यान्वयनको चरणमा पुगेको छ। प्रदेश सरकारको नेतृत्व परिवर्तनसँगै नयाँ मन्त्रिपरिषद् गठन, मन्त्रालयको भागबण्डा तथा साझा न्यूनतम कार्यक्रमबारे दुई दलबीच थप छलफल जारी रहेको स्रोतहरूले बताएका छन्।
शाहीको दाबी संवैधानिक प्रक्रिया अनुसार प्रदेश प्रमुखले परीक्षण गरेपछि नयाँ मुख्यमन्त्री नियुक्त हुनेछन्। त्यसपछि संविधानले तोकेको समयसीमाभित्र उनले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ।
नयाँ सत्ता समीकरणसँगै कर्णाली प्रदेशमा विकास आयोजना, बजेट कार्यान्वयन, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। यद्यपि सरकार गठनपछि मन्त्रिपरिषद्को स्वरूप, मन्त्रालयको बाँडफाँट र नीति प्राथमिकताले आगामी राजनीतिक दिशालाई निर्धारण गर्ने विश्लेषकहरूको भनाइ छ।






