अपडेट

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्सरे सेवा बन्द, बिरामी मारमा

  ।   २६ फाल्गुन २०८२, मंगलवार १२:४१

जुम्ला । कर्णाली प्रदेशकै प्रमुख स्वास्थ्य सेवा केन्द्रका रूपमा चिनिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा एक्सरे सेवा लामो समयदेखि अवरुद्ध हुँदा बिरामीहरू गम्भीर समस्यामा परेका छन्। अस्पतालमा रहेको एकमात्र एक्सरे मेसिन बिग्रिएपछि सेवा ठप्प बनेको हो।

एक्सरे सेवा बन्द हुँदा कर्णालीका विकट जिल्लाबाट उपचारका लागि आउने बिरामीहरू विशेष रूपमा प्रभावित भएका छन्। दैनिक हुने दुर्घटना, चोटपटक तथा हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीहरूले आवश्यक परीक्षण गर्न नपाउँदा सास्ती खेप्नुपरेको छ।

जुम्लाका विभिन्न स्थानीय तहसँगै हुम्ला, मुगु, डोल्पा र कालिकोटलगायत छिमेकी जिल्लाबाट आउने बिरामीहरू सामान्य चोटपटक, हाडजोर्नी समस्या तथा छाती–फोक्सोसम्बन्धी रोगको परीक्षणका लागि एक्सरे सेवामा निर्भर रहने गर्छन्। तर अस्पतालमै सेवा उपलब्ध नभएपछि उनीहरू महँगो शुल्क तिरेर निजी मेडिकल तथा क्लिनिक धाउन बाध्य भएका छन्।

स्थानीयवासीका अनुसार एक्सरे मेसिन लामो समयदेखि बिग्रिएको भए पनि मर्मत वा नयाँ उपकरण व्यवस्थापनका लागि अस्पताल प्रशासनले प्रभावकारी पहल नगरेको गुनासो छ। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा देखिएको यस्तो लापरवाहीले बिरामीहरू थप पीडित बनेको उनीहरूको भनाइ छ।

स्थानीय नागरिक तथा बिरामीका आफन्तहरूले समस्या तत्काल समाधान गरी एक्सरे सेवा यथाशीघ्र सुचारु गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। कर्णाली प्रदेशकै मुख्य रेफरल अस्पतालमा आधारभूत स्वास्थ्य सेवा नै अवरुद्ध हुनु दुःखद भएको भन्दै उनीहरूले अस्पताल प्रशासनलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।

Next Post

बालिकामाथि बलात्कारपछि हत्या, युवा मानवअधिकार रक्षक सञ्जालको गम्भीर ध्यानाकर्षण

२६ फाल्गुन २०८२, मंगलवार १२:४१
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित सहिद पार्क नजिकैको जंगल क्षेत्रमा १६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाप्रति युवा मानवअधिकार रक्षक सञ्जालले गम्भीर ध्यानाकर्षण जनाएको छ। सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका–६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बसोबास गर्दै आएकी ती बालिकामाथि भएको बलात्कारपछि हत्या गरिएको घटनालाई सञ्जालले अमानवीय, क्रूर र जघन्य अपराधको […]