सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा मतगणना जारी रहँदा हालसम्म दुई निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी का उम्मेदवार विजयी भएका छन् भने बाँकी क्षेत्रमा कडा प्रतिस्पर्धा देखिएको छ।
दैलेख–१ बाट नेपाली कांग्रेसकी बसना थापा विजयी भएकी छन्। उनले नेकपा एमालेका रविन्द्रराज शर्मालाई ५७६ मतान्तरले पराजित गरिन्। थापाले १२ हजार ३७२ मत प्राप्त गर्दा शर्माले ११ हजार ७९६ मत प्राप्त गरेका छन्।
त्यसैगरी, एक मात्र निर्वाचन क्षेत्र रहेको कालीकोटबाट नेकपा का महेन्द्रबहादुर शाही विजयी भएका छन्। शाहीले ११ हजार ३३० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नगेन्द्र शाहीले १० हजार २२२ मत ल्याएका छन्।
हालसम्म सार्वजनिक विवरणअनुसार कर्णालीका अन्य निर्वाचन क्षेत्रमा भने मतगणना जारी छ। प्रारम्भिक नतिजाले विभिन्न दलबीच कडा प्रतिस्पर्धा देखिएको छ। उपलब्ध मतपरिणामअनुसार नेपाली कांग्रेस दुई क्षेत्रमा अग्रता कायम गरिरहेको छ भने नेकपा तीन, नेकपा एमाले एक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) एक र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक क्षेत्रमा अघि देखिएका छन्।
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही अग्रस्थानमा छन् भने नेकपाका नरेश भण्डारीले उनलाई पछ्याइरहेका छन्। हुम्लामा नेकपाका दिपेन्द्र रोकाया तथा डोल्पामा धनबहादुर बुढाले अग्रता कायम राखेका छन्।
दैलेख–२ मा नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल अगाडि छन् भने नेपाली कांग्रेसका उम्मेदवारले उनलाई पछ्याइरहेका छन्। जाजरकोटमा नेपाली कांग्रेसका खड्गबहादुर बुढा अग्रस्थानमा रहँदा नेकपाका शक्तिबहादुर बस्नेत दोस्रो स्थानमा छन्।
रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मा अघि छन् भने नेकपाका गोपाल शर्माले उनलाई पछ्याइरहेका छन्। सल्यानमा नेकपाका रमेश मल्ल अग्रस्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका ललित चन्दले चुनौती दिइरहेका छन्।
सुर्खेत–१ मा नेपाली कांग्रेसका विष्णुबहादुर खड्काले सुरुवाती अग्रता कायम गरेका छन् भने नेकपा एमालेका ध्रुवकुमार शाहीले उनलाई पछ्याइरहेका छन्। सुर्खेत–२ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटाले ठूलो मतान्तरसहित अग्रता लिएका छन्। उनलाई नेपाली कांग्रेसका नारायण कोइरालाले पछ्याइरहेका छन्।
यता मुगु जिल्लामा भने हालसम्म मतगणना सुरु हुन सकेको छैन। आवश्यक व्यवस्थापन तथा मतपेटिका संकलनको प्रक्रिया पूरा भएपछि मात्र मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
निर्वाचन आयोगका अनुसार कर्णालीका अधिकांश जिल्लामा मतगणना निरन्तर जारी रहेकाले आगामी केही घण्टाभित्र थप निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ। राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू मतगणना स्थलमा केन्द्रित रहँदा सुरक्षा व्यवस्था समेत कडा पारिएको छ।







