सुर्खेत । डोल्पा जिल्लाको ठूलोभेरी नगरपालिका–३ स्थित धुपीचौरमा भेरी नदीको बीच भागमा फसेका चार जनालाई सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ।
उद्धार गरिएका व्यक्तिहरू त्रिपुरासुन्दरी नगरपालिका–६ पालुङ निवासी ३३ वर्षीय ललित बोहरा, २६ वर्षीय नन्दप्रसाद बोहरा, ३५ वर्षीय लालकुमार बुढा र ३७ वर्षीय श्यामलाल बोहरा रहेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ। बिहान दाउरा लिन गएका उनीहरू नदीको बहाव अचानक बढेपछि बीच भागमै अलपत्र परेका थिए।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपकराज भट्टको नेतृत्वमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा उनीहरूको सफल उद्धार गरेको हो।
उद्धारपछि उनीहरूलाई स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल डोल्पा पठाइएको छ। अस्पताल स्रोतका अनुसार सबैको अवस्था सामान्य रहेको छ।प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको भेगमा समयमै गरिएको समन्वित उद्धार कार्यले ज्यान जोगाउन सफल भएको भन्दै स्थानीयवासीहरूले सुरक्षा निकायप्रति आभार प्रकट गरेका छन्।