मुगु । मुगको छायाँनाथ रारा नगरपालिका वडा –६ कोटिला गाउँका १६ वर्षीय पाउडर भामका र उनका ११ वर्षीय भाइ लालबहादुर भामले गाउँको घरमा ६० भेडा पाल्दै आएका छन् ।
ग्रामीण भेगका कृषकसँग आत्मनिर्भरता हुने अरु कुनै पनि रोजगारमुलक काम नहुँदा घर परिवारको खर्च धान्नलाई उनले भेडापालन व्यवसाय गर्दै आएका हुन। सो गाउँका अधिकांश कृषकले घरपरिवारको जोहो गर्नलाई भेडापालन गर्दै आएका छन् ।
भामले घरमा वृद्ध आमाबुवालाई साथ दिन र घरव्यवहार चलाउन सहयोग गर्न घना जंगलमा भेडापालन गर्दै आएका हुन् । उनले गरिबीकै कारणले घर चलाउन भेडापालन गर्न बाध्य भएको र भेडापालनमा लाग्दा विद्यालय जान नपाएको गुनासो गरेका छन् ।
भेडा चराउने जंगल टाढा भएकाले वृद्ध भएका बाआमा हिड्न नसक्ने भएकाले जान नसक्दा भाइ र आफूले भेडा चराउँदै आएको उनको भनाइ छ । भारी हिमपात भएका बेला भेडालाई चरिचरन गर्ने ठाउँसम्म आउजाउ गर्न सानो भएकाले चिसोले हात र खुट्टा हिउँले खाने गरेको लालबहादुरले बताउनुभयो।
मुगुको छायाँनाथ रारा नगरपालिका –६ का वडा अध्यक्ष खेमबहादुर रावलले उनिहरुजस्ता भेडापालक कृषकलाई राहत पुगोस् भन्ने उद्देश्यले छायाँनाथ रारा नगरपालिकाले प्रत्येक वर्ष त्रिपाल, सोलार र पानीबुटजस्ता सामग्रीहरु वितरण गर्दैआएको छ ।
भेडापालक कृषक पाउडरका अनुसार भेडा उपचारका लागि स्थानीय निकाय र पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट कुनै पनि औषधी र अन्य अनुदानका कार्यक्रम नपाउँदा भेडापालक कृषकलाई समस्या भएको छ । उनले भने, “हामीजस्ता सामान्य कृषकलाई सरकारले औषधी र उपकरणजस्ता अनुदानमा प्रथामिकता नदिएको गुनासो गर्नुभयो ।”
यता, पशुसेवा कार्यालयले जिल्लाका भेडापालक कृषकका लागि यो आर्थिक वर्षका लागि जिल्लाका भेडापालन कृषकलाई प्रोत्साहन कार्यक्रमका लागि ५४ लाख अनुदान रकम, उपलब्ध गराउने उद्देश्यले प्रदेश सरकारबाट बिनियोजन भएको निमित्त कार्यालय प्रमुख अंगराज खत्रीले बताउनुभयो ।
त्यसैगरी भेंडाका लागि ऊन काट्ने कैँची र ऊन छुन्ने काँइयोजस्ता सामग्री भेडापालक कृषकलाई उपलब्ध गराउने कार्यक्रम रहेको उहाँले बताए । छायाँनाथ रारा नगरपालिकाको पशु शाखाले नगरभरिका पशुपालन कृषकका लागि औषधी उपलब्ध गराउँदैआएको शाखा प्रमुख दीर्घ बुढाले बताउनुभयो ।